00:00:00
स्थानिय

तिलोत्तमामा अनलाइन प्रणालीबाट घर—नक्सा पास

आइतबार भदौ ६, २०७८/ Sunday 08-22-21

तिलोत्तमा-रुपन्देही 
२०७८ भदौ ६ 

            रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरको नक्सा अनलाइन अर्थात् इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरबाट पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । पेपरलेस नगरपालिकाको अवधारणाअनुसार अघि बढेको तिलोत्तमाले घर—नक्साको काम विद्युतीय नक्सा पास प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो ।

नगरपालिकामा राजस्व भुक्तानीलगायतका विभिन्न सेवा प्रवाहका काम अनलाइनबाट हुँदै आएका छन् । छिटो—छरितो सेवा प्रवाहको साथै नगरबासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । रुपन्देहीमा सबैभन्दा बढी नयाँ घर थपिने तिलोत्तमामा हाल दैनिक चार वटा नयाँ नक्सा दर्ता हुँदा दुई वटा घरको नक्सा पास हुने गरेको छ ।

विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाईल बोकेर दौडिरहन नपर्ने नगरपालिकाका नक्सा शाखा प्रमुख मनिष खनालले बताउनुभयो । उहाँका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्रहरु सुरक्षित रहने तथा नगरलाई पनि तथ्याङ्क राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुनेछ ।

नगरपालिकाले सम्बन्धित शाखाका कर्मचारीलाई तालिमको साथैं कार्यालयमा सूचीकृत भएका ईञ्जिनियरिङ कन्सलटेन्सीका सञ्चालकहरुसँग अभिमुखीकरण कार्यक्रम गरेर नक्सा पासलाई अनलाईन प्रणालीमा लैजान थालेको हो । यो प्रणालीअनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने ईञ्जिनियर सन्तोष पाण्डेको भनाइ छ । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बाहनाबाजीलाई निरुत्साहित गराउने नगरपालिकाको विश्वास छ ।

समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गराउँदै तिलोत्तमालाई स्मार्ट सहरको रुपमा विकास गर्ने योजना अर्न्तगत् विकास साझेदार निकायको सहयोगमा अनलाइन नक्सा पास प्रणाली थालिएको नगर प्रमुख घिमिरेको भनाइ छ  ।

 

तपाईको प्रतिक्रिया