00:00:00
स्थानिय

फूल उत्पादनमा आत्मनिर्भरतातर्फ बुटवल, तिहारका लागि १३ स्थानमा बिक्री कक्ष राखिने

बिहीबार कार्तिक १३, २०८३/ Thursday 10-29-26


तिलोत्तमा,१२ कात्तिक । 
रूपन्देहीको बुटवल उपमहानगरपालिका व्यावसायिक फूल उत्पादनमा आत्मनिर्भरतातर्फ तीव्र रूपमा अगाडि बढेको छ । स्थानीय फूल उत्पादक किसान र उपमहानगरपालिकाबीच आज सम्पन्न विशेष छलफलका क्रममा बुटवलमा फूलको उत्पादन बर्सेनि बढ्दै गएको र यस वर्ष मागको ठूलो हिस्सा आन्तरिक उत्पादनले नै धान्ने तथ्याङ्क सार्वजनिक गरिएको हो ।

बुटवलमा फूल खेतीको क्षेत्र विस्तार उत्साहजनक रूपमा भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । आर्थिक वर्ष २०८०र८१ मा ९ कठ्ठामा मात्र सीमित रहेको फूल खेती आव २०८१र८२ मा १ बिगाहा, आव २०८२र८३ मा १५ कठ्ठा हुँदै चालु आर्थिक वर्ष २०८३र८४ मा बढेर ३ बिगाहा १० कठ्ठा पुगेको छ । तिहारको समयमा बुटवलमा ५० देखि ६० हजार माला आवश्यक पर्ने अनुमान गरिएकोमा कुल मागको ७० देखि ७५ प्रतिशत हिस्सा स्थानीय उत्पादनले नै पूरा गर्ने कृषि शाखाले जनाएको छ ।

आज फूल उत्पादक किसानसँग भएको छलफलका क्रममा नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई फूलमा पूर्ण आत्मनिर्भर बनाउन र किसानका हरेक समस्या समाधान गर्न पालिका प्रतिबद्ध रहेको बताउनुभयो । विगतमा तिहार लक्षित ११ ठाउँमा बिक्रीस्थल राखेकोमा यस वर्ष किसानको सहजताका लागि १३ स्थानमा बिक्री कक्षको व्यवस्था गरिने बताउँदै उहाँले यसका लागि पालिकाले आर्थिक सहयोग समेत गर्ने बताउनुभयो ।

त्यसैगरी, नगर उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न उपमहानगरले प्लास्टिकका फूल तथा माला बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको जानकारी दिनुभयो । 

बिक्रीस्थल निर्माणमा पालिकाले अनुदान दिने निर्णय गरेपछि स्थानीय फूल उत्पादक किसानहरू निकै उत्साहित बनेका छन् । भारतबाट आउने फूलमा समेत रोक लगाइनुपर्ने किसानहरुको माग छ ।

तपाईको प्रतिक्रिया