तिलोत्तमा । भदौ २० गते । भोटेकोसी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित झिँगु नेवाः खलले यस वर्षको वार्षिक लाखे नाच कार्यक्रम रद्द गरी कार्यक्रमका लागि संकलित रकम बाढीपीडितको सहयोगमा प्रदान गर्ने निर्णय गरेको छ । खलले वार्षिक रूपमा आयोजना गर्दै आएको लाखे नाच कार्यक्रमका लागि संकलन भएको रु. ३७ हजार ४ सय ४७ रकम कार्यक्रम सञ्चालनमा खर्च नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।
खलका अध्यक्ष ओमप्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढीबाट प्रभावित नागरिकको पीडालाई मध्यनजर गर्दै उक्त रकम राहतका लागि प्रदान गर्ने निर्णय गरेको जनाइएको छ । सोही निर्णय अनुसार श्रीकृष्ण जन्माष्टमीको अवसरमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा हस्तान्तरण गरिएको खलले जनाएको छ । कार्यक्रमका लागि संकलित रकम बैंकमार्फत ट्रान्सफर गरी सहयोग कार्य सम्पन्न गरिएको हो ।
खलले परम्परा र संस्कृतिको संरक्षणसँगै विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने आवश्यकता महसुस गर्दै लाखे नाचका लागि संकलित रकम बाढीपीडितको राहत तथा उद्धारमा सहयोग गरेको जनाएको छ । लाखे नाचजस्तो सांस्कृतिक कार्यक्रम रद्द गरी त्यसका लागि संकलित रकम विपद्पीडितको सहयोगमा प्रदान गर्ने झिँगु नेवाः खलको निर्णयले सांस्कृतिक संरक्षणसँगै मानवीय संवेदना र सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धता समेत देखाएको छ ।
तपाईको प्रतिक्रिया