00:00:00
शिक्षा

पशुपति माविमा वृत्ति मार्ग निर्देशन ल्याब सञ्चालन

विद्यार्थीको भविष्य रोजाइमा सहयोग पुग्ने अपेक्षा
सोमबार असार २२, २०८३/ Monday 07-06-26

तिलोत्तमा । असार २२ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयमा वृत्ति मार्ग निर्देशन सेवा इकाइ तथा वृत्ति मार्ग निर्देशन ल्याब सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा तथा इनस्योर परियोजना अन्तर्गत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा स्थापना गरिएको उक्त सेवा इकाइको उद्घाटन नगरप्रमुख रामकृष्ण खाणले गर्नुभएको हो । विद्यालयका प्रधानाध्यापक वेदनारायण भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकृष्ण खाणले आजको प्रतिस्पर्धी युगमा विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभई आफ्नो रुचि, क्षमता, सीप र सम्भावनाको पहिचान गराई सही पेशा तथा उद्यम रोज्न सक्षम बनाउनु आवश्यक रहेको बताउनुभयो । 

उहाँले वृत्ति मार्ग निर्देशन सेवा विद्यार्थीलाई भविष्यप्रति स्पष्ट दृष्टिकोण निर्माण गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा क्रमशः यो सेवा विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक वेदनारायण भट्टराईले विद्यालयमा स्थापना भएको वृत्ति मार्ग निर्देशन ल्याब विद्यार्थीका लागि दीर्घकालीन उपलब्धिको आधार बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सेवा सञ्चालनमा सहयोग पु¥याउने तिलोत्तमा नगरपालिका, हेल्भेटास नेपाल तथा सम्बन्धित सबै पक्षप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रवि सेन्चुरी, शिक्षा अधिकृत धनीप्रसाद शर्मा, हेल्भेटास नेपालका प्राविधिक अधिकृत दिलीप बोहोरा लगायतले बोल्दै वृत्ति मार्ग निर्देशन ल्याबले विद्यार्थीलाई आफ्नो क्षमता र रुचि अनुसारको अध्ययन तथा पेशा छनोट गर्न व्यावहारिक सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन ।  सो अवसरमा हेल्भेटास नेपालका करियर काउन्सिलर सुशीला पौडेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 
 

तपाईको प्रतिक्रिया