00:00:00
स्थानिय

भद्रकाली दुर्गा मन्दिर परिसरमा नवनिर्मित मन्दिर भवन उद्घाटन

शुक्रबार असार १२, २०८३/ Friday 06-26-26

तिलोत्तमा । असार १२ गते । रूपन्देहीको तिलोत्तमा नगरपालिका–८ शान्तिनगरस्थित भद्रकाली दुर्गा मन्दिर परिसरमा नवनिर्मित मन्दिर भवनको उद्घाटन गरिएको छ । शुक्रबार आयोजित धार्मिक कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाडले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनपछि बोल्दै नगरप्रमुख खाडले मठ–मन्दिर र धार्मिक स्थलहरूले समाजमा नैतिकता, सद्भाव र मानवीय सत्कर्म प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले आध्यात्मिक चेतनामार्फत तिलोत्तमालाई संस्कारयुक्त र सत्कर्ममा आधारित नगरपालिका बनाउने लक्ष्य राखिएको बताउनुभयो ।

मन्दिर सञ्चालन समितिका अध्यक्ष खेमराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्तिराम पाण्डे, जनप्रतिनिधि, समाजसेवी, अक्षयकोषदाता, जग्गादाता, आजीवन सदस्य तथा स्थानीय श्रद्धालुहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका अवसरमा वास्तुपूजा, रुद्राभिषेक, दुर्गा पूजा, लक्ष्मीनारायण पूजा तथा लक्ष्यवर्ती सहित विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरिएको सचिव डिल्लीराज भण्डारीले जानकारी दिनुभयो । सोही अवसरमा बुद्धिप्रसाद भण्डारीले एक लाख तीन हजार एक सय पाँच रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । मन्दिरमा हाल ४७ जना आजीवन सदस्य र ५ जना अक्षयकोषदाता रहेका छन् ।
 

तपाईको प्रतिक्रिया