पुरुषोत्तममास महात्म्यमबाट १० लाखभन्दा बढी बचत
आय–व्यय सार्वजनिक गर्दै पारदर्शितामा जोड
तिलोत्तमा । तिलोत्तमा नगरपालिका–१, चपरहट्टी सिद्धार्थचोकस्थित नवदुर्गा कोटघर मन्दिरमा सम्पन्न पाँच दिवसीय पुरुषोत्तम मास महात्म्यमको आय–व्यय सार्वजनिक गरिएको छ । महायज्ञ मूल आयोजक समितिले शुक्रबार आम भक्तजन तथा सरोकारवालाको उपस्थितिमा कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गर्दै पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।
जेठ १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको धार्मिक कार्यक्रमबाट कुल १८ लाख ८ हजार १ सय ६५ रुपैयाँ आम्दानी भएको सचिवालय सदस्य शिवलाल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सञ्चालनका लागि ७ लाख ९९ हजार ७ सय ११ रुपैयाँ खर्च भएको र खर्च कटाएर १० लाख ४ हजार ४ सय ५४ रुपैयाँ बचत भएको छ । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिका–१ का वडाध्यक्ष फर्सुराम गिरिले सबैको साथ, सहयोग र सहकार्यकै कारण धार्मिक अभियान सफल भएको बताउनुभयो । उहाँले पुण्यकारी कर्मले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने भएकोले सबैको साथ, सहयोग र सहकार्य अपरिहार्य हुने बताउनुभयो ।
नवदुर्गा कोटघर मन्दिरका अध्यक्ष शंकर प्रसाद कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक समिति संयोजक हरिप्रसाद कडेल, मन्दिरका उपाध्यक्ष तथा महायज्ञ संयोजक थानेश्वर कडेल, लेखा समिति संयोजक शिवलाल पाण्डे, जनप्रतिनिधि गीतादेवी न्यौपाने, सावित्रा कडेल, तेजप्रसाद पाण्डे, टोपलाल भण्डारी तथा हरिहर गौतम लगायतले बोल्दै धार्मिक अभियानले सामाजिक सद्भाव, आध्यात्मिक चेतना र सामुदायिक एकतालाई थप मजबुत बनाएको धारणा राख्नुभयो । वक्ताहरुले यसखाले कार्यक्रमहरुको आयब्यय सार्वजनिक गर्दा समाजमा सकरात्मक प्रभाव पर्ने भन्दै धार्मिक अभियान सफल पार्न अहोरात्र खट्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन ।
तपाईको प्रतिक्रिया