00:00:00
स्थानिय

रैथाने परिकार र थारु संस्कृतिलाई पर्यटनसँग जोड्न तिलोत्तमा १३ मा थारु होमस्टे

आइतबार जेठ ३१, २०८३/ Sunday 06-14-26


तिलोत्तमा, ३१ जेठ ।
तिलोत्तमा नगरपालिका–१३ सेमरीस्थित सखिया थारु सामुदायिक होमस्टेमा आयोजित होमस्टेकर्मीहरूका लागि नेपाली तथा रैथाने परिकार बनाउने र पुरानो कला–संस्कृति संरक्षणसम्बन्धी सातदिने तालिम सम्पन्न भएर्संगै गतिशिलताको अपेक्षा बढाएको छ  ।

तालिम समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि स्थानीय खानाका परिकार, संस्कृति र आतिथ्य सेवालाई गुणस्तरीय बनाउनुपर्ने बताए । उनले होमस्टेले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले थारु समुदायको मौलिक संस्कृति, परम्परा र रैथाने खानाका परिकार पर्यटनको आकर्षणको प्रमुख आधार भएको बताइन् । उनले महिलाहरूको सक्रिय सहभागिताले होमस्टे व्यवसायलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिन् ।

तिलोत्तमा वडा नं। १३ का वडाध्यक्ष नारायण ढकालले सेमरी क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न वडा कार्यालय प्रतिबद्ध रहेको बताए । उनले तालिमले होमस्टे सञ्चालकहरूको क्षमता अभिवृद्धि हुनुका साथै स्थानीय संस्कृति संरक्षणमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाका प्रशासन शाखा प्रमुख मुक्ति खनालले पर्यटन विकासका लागि पूर्वाधारसँगै दक्ष जनशक्ति आवश्यक पर्ने बताउँदै यस्ता तालिमले सेवा प्रवाहलाई व्यावसायिक बनाउन मद्दत पुग्ने धारणा राखे । उनले स्थानीय समुदायको सहभागितामा पर्यटन गतिविधि विस्तार गर्न नगरपालिका निरन्तर लागिपरेको जानकारी दिए ।

तालिमका प्रशिक्षक खुमबहादुर बस्नेतले सात दिनसम्म सहभागीलाई नेपाली तथा रैथाने परिकारको तयारी, प्रस्तुतीकरण, सरसफाइ तथा आतिथ्य व्यवस्थापनका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको बताए । तालिमले स्थानीय खानाका परिकारलाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रमका अध्यक्ष तथा सखिया थारु सामुदायिक होमस्टेका सञ्चालक हरिनारायण थारुले तालिमले होमस्टे सञ्चालनमा नयाँ ऊर्जा थपेको बताए । उनले स्थानीय संस्कृति, परम्परा र रैथाने खानालाई जोगाउँदै पर्यटकलाई आकर्षित गर्ने योजनामा आफूहरू लागिरहेको उल्लेख गरे ।

तिलोत्तमा नगरपालिकाको आयोजनामा सम्पन्न तालिममा होमस्टेसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै ग्रामीण पर्यटन प्रवद्र्धन तथा स्थानीय कला–संस्कृतिको संरक्षणमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस अवसरमा थारु संस्कृती झल्किने विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।
 

तपाईको प्रतिक्रिया