नेपाल अक्वाटिक्स च्याम्पियनसिप जेष्ठ २४ र २५ गते हुदै
लुम्बिनी वर्ल्ड स्कुलका १० सहित लुम्बिनीबाट १५ खेलाडी सहभागी हुने
प्रकाश पाण्डे । जेठ २२ गते । नेपाल पौडी संघको आयोजनामा काठमाण्डौंमा हुने अक्वाटिक्स पौडी प्रतियोगितामा लुम्बिनी वर्ल्ड स्कुलका १० सहित लुम्बिनी प्रदेशबाट १५ खेलाडी सहभागी हुदैछन । दोश्रो संस्करणको नेपाल अक्वाटिक्स पौडी प्रतियोगिता यही जेठ २४ र २५ गते काठमाण्डौंस्थित सातदोबाटो ललितपुरको आउटडोर पौडी पोखरीमा हुने र सो प्रतियोगितामा लुम्बिनी प्रदेशबाट सहभागी हुने कुल १५ जना खेलाडीहरु बिहिबार त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी पौडी संघका अध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो ।
बिहिबार लुम्बिनी वर्ल्ड स्कुलको प्रागँणमा आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष योगेश घिमिरेले पौडी प्रतियोगितामा भाग लिन जाने आफ्ना स्कुलका १० जना खेलाडीलाई जीतको शुभकामना सहित सफलताको कामना गर्नुभयो । सो अवसरमा बोल्दै लुम्बिनी वर्ल्ड स्कुलका प्राचार्य विष्णु प्रसाद ढकालले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने प्रयासले मुर्तरुप पाउँदै गएको प्रति खुशी ब्यक्त गर्नुभयो ।
शनिबार र आइतबार गरि २ दिनसम्म हुने प्रतियोगितामा देशभरिबाट तीन सय खेलाडी सहभागी हुदैछन । उमेर समूह र खुल्ला गरी ५३ वटा स्पर्धामा हुने प्रतियोगिताको अनलाईन सिस्टमबाट खेलाडी दर्ता गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल पौडी संघका सचिव गंगालाल गोलेले बताउनुभयो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरी लम्सालले उद्घघाटन गर्ने कार्यक्रम रहेको छ भने समापनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई निमन्त्रणा गरिएको संघले जनाएको छ ।
प्रतियोगिता अवलोकन गर्न दर्शकलाई टिकट सिस्टम राखिएकोमा दोश्रो दिनको फाइनलका सम्पूर्ण टिकट विक्री भईसकेको संघले जनाएको छ । भिआईपी प्याराफिटमा मात्र टिकट राखिएकोमा टिकट दर २ सय तोकिएको प्रतियोगिता संयोजक एवं नेपाल पौडी संघका महासचिव ईश्वरकुमार कार्कीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया