00:00:00
स्थानिय

अन्तराष्टिय महिला दिवसमा तिलोत्तमा नगरपालिकाका ५१ श्रमिक महिला सम्मानित

शनिबार फाल्गुण २४, २०८१/ Saturday 03-08-25

बिन्दु भट्टराई,तिलोत्तमा २४ फागुन । 
११५ औँ अन्तराष्टिय महिला दिवसका अवसरमा तिलोत्तमा नगरपालिकाका श्रमिक महिला सम्मानित भएका छन् ।  नगरपालिकामा रहेर जोखिमपुर्ण रुपमा श्रम गरिरहेका ५१ जना श्रमिक महिलाहरुलाई तिलोत्तमा नगरपालिकाले सम्मान गरेको हो । 

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले नेपालको कानुन महिलामैत्री भएको जिकिर गर्दै कार्यान्वयनको क्षेत्रमा भने ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ  । उहाँले त्यसको लागि नेतृत्व र व्यक्तित्व विकासमा नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । प्रमुख खाँडले आगामी वर्ष महिला सम्मान कार्यक्रमलाई वृहत बनाउने गरी अगाडि बढ्नेमा जोड दिनुभएको छ । उहाँले आर्थिक शसक्तिकरणका लागि महिला आयमुलक,सिपमुलक कार्यमा जोडिनुपर्ने खाँचो औँल्याउनुभयो । 

कार्यक्रममा सहजकर्ताका रुपमा अधिबक्ता दिपा सुनारले महिला दिवसलाई उत्सवको रुपमा मनाउने कि विरोधको रुपमा भन्ने विषयमा सहजीकरण गर्दै संविधानमा व्यवस्था भएका ऐन कानुनको अवस्था र कार्यान्वयनको पक्षका विषयमा जानकारी गराउनुभएको थियो । 

त्यस्तै तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले महिलाका सामाजिक संरचना फरक भएकोले सवै महिलालाई एउटै किसिमको अवसर भन्दा पनि कसका लागि कस्तो अवसर भनेर छनोट गर्दै आर्थिक शसक्तिकरणमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । 

कार्यक्रममा पार्टी प्रतिनिधीका तर्फबाट नेकपा एमाले तिलोत्तमा नगरकमिटीका अध्यक्ष मिनप्रसाद पोख्रेल,नेपाली कंग्रेश तिलोत्तमा नगर कमिटीका अध्यक्ष हरिलाल पाण्डे,माओबादी केन्द्रका नगर अध्यक्ष वेलप्रसाद शर्मा लगायतले पुरुषका तुलनामा महिलाहरुको क्षमताको सम्मान गर्दै महिला इमान्दारीको समेत प्रशंसा गर्नुभयो । 

कार्यक्रममा अनेम संघ तिलोत्तमाका अध्यक्ष कमला ज्ञवाली, नेपाल महिला संघका अध्यक्ष शान्ता बस्याल,जनता समाजबादी अनेम संघका आशा कुमारी चौधरी लगायतले महिला आफैले आफनो क्षमता विकास गर्ने गरी लाग्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो । उहाँहरुले अझै पनि ढुक्क भएर बस्न नहुने उल्लेख गर्र्दै महिलाका हक अधिकारका लागि महिला आन्दोलनलाई रोक्न नहुने बताउनुभएको छ  । 

कार्यक्रममा वडा अध्यक्षहरु नगर कार्यपालिका सदस्य,कर्मचारी,सम्मानित श्रमिक महिला तथा पत्रकारहरुको सहभागिता रहेको कार्यक्रमको संचालन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख संझना भण्डारी भुसालले नगरपालिकाले मात्र गरेर नहुने भन्दै सवैतिरबाट यसको पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । 

विभिन्न सांस्कृतिक कार्यक्रमसंगै वडा नम्बर ६ बाट गएका भजनटोलिले भजन समेत प्रस्तुत गरेका थिए । भने यो कार्यक्रमको रेडियो लुम्विनी तथा तिलोत्तमा टेलिभिजनले प्रतक्ष प्रसारण गरेको थियो । 
 

तपाईको प्रतिक्रिया