आज देशभर महाशिवरात्री पर्व मनाइदै
सिद्धबाबा सहित देशभरका शिवालयमा बिहानैदेखि भीडभाड
तिलोत्तमा । फागुन १४ गते । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ ।
माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व ( जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाई छ । व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।
सिद्धबाबामा ५० हजार भक्तजनले दर्शन गर्ने अनुमान
यसैबीच पाल्पा सिद्धबाबा मन्दिरसहित देशभरका शिवालयमा आज विहानैदेखि भिड लागेको छ । यस क्षेत्रमा पाल्पाको तिनाउ गाउँपालिका–३ मा अवस्थित सिद्धबाबा मन्दिर, बुटवलको तल्लो सिद्धबाबा मन्दिर, सैनामैनाको पर्रोहा बोलबम धाम, बुटवलको नरैनापुर धाम, बेलबासको मुक्तिनाथ धाम, बुटवल कालकानगरको कालिका मन्दिर, दिपनगर मन्दिर, योगिकुटी मन्दिर, यसैगरि तिलोत्तमाको विभिन्न पस्तै मणिग्रामको शिवालय मन्दिर, सरस्वति पन्चायतन मन्दिर, तिलोत्तमा ९ को नन्देश्वर महादेव मन्दिर लगायतका विभिन्न ठाउँमा भक्तजनले आज भगवान शिवको पूजाआजा गर्दै छन् । नेपालमा काठमाडौंको पशुपतिमा करीत्र ५ लाख भक्तजनको सहभागितामा धुमधामकासाथ मनाउने तयारी भैरहेको पशुपति क्षेत्र विकाश कोषले जनाएको छ । महाशिवरात्री पर्वका अवसरमा पाल्पाको सिद्धबाबा मन्दिरमा अखण्ड भजनसहित यो पर्व मनाइँदै छ ।
भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको अस्पताल बिकास समितिले जनाएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरीएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिए । उनका अनुसार वृद्धवृद्धा, अशक्त, असाहयहरुले भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्नेछन् । सद्धबाबा क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ । अध्यक्ष शेरचनका अनुसार यो वर्ष ५० हजार बढी भक्तजन भित्र्याउने गरी तयारी गरिएको छ । भक्तजनहरूलाई दर्शनका लागि आज बिहान ४ बजेदेखि नै मूल मन्दिर खुला गरिएको प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया