सेनाको हेलिकप्टर र अमेरिकी एयरलाइन्सको विमान ठोक्किँदा १८ जनाको मृत्यु
काठमाण्डौ २०८१ माघ १७
अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।
अमेरिकाको वासिङ्टन डिसीनजिकै अमेरिकी एयरलाइन्सको एक विमानसँग आकाशमै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर ठोक्किएको बिबिसीले जनाएको छ ।
प्रहरी अधिकारीहरूले जानकारी दिँदै अहिलेसम्म १८ जनाको शव फेला परिसकेको बताएका छन्। उक्त विमानमा ६४ जना सवार थिए, जसमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य थिए।
बमबार्डियर कम्पनीको सिआरजे ७०० विमान वासिङ्टनबाट क्यान्ससतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार ठक्करपछि विमान आकाशमै दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो। अहिले नदीमा खोजी तथा उद्धार कार्य जारी छ।
स्थानीय समयअनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै भएको यस दुर्घटनाको अनुसन्धान सुरू गरिएको छ। उक्त विमानले रिगन नेशनल एयरपोर्टबाट उडान भरेको थियो।
तपाईको प्रतिक्रिया