हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको निर्णय
काठमाण्डाै २०८१ माघ १०
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रगत बग्न नरोकिने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने निर्णय गर्नुभएको छ । यो रोगको औषधि र उपचार महँगो भएकाले निःशुल्क गराउन धेरै बिरामी तथा सरोकारवालाले सरकारलाई आग्रह गर्दै आएका थिए ।
जटिल किसिमको वंशाणुगत यो रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका साथै अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ ।
विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको मन्त्री पौडेलले बताउनुभयो । धेरै पीडित तथा सरोकारवालाले महँगो उपचार सरकारमार्फत होस् भन्दै गरेको अनुरोध आफूहरूले स्वीकारेको उहाँको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले हेमोफिलियाको औषधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतकाे नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताउनुभएको छ ।
नेपालमा झन्डै ९ सय जना हेमोफिलिया रोगका बिरामी पहिचान भएका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका बिरामी झन्डै ५ हजार जना रहेको अनुमान गरेको छ । मन्त्रालयले संघीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधी उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया