हर्क साम्पाङ सिंहदरबारमा, खाली गाग्री प्रहरीले नियन्त्रणमा लियो
काठमाण्डौ ०८१ माघ ०८
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार सिंहदरबारमा पुगेका छन् । धरानको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई अवगत गराउने उद्देश्यका साथ उनी केहीबेर अघि सिंहदरबारमा पुगेका हुन् ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर हिजो काठमाडौं आएका थिए । तर, मेयर साम्पाङ सिंहदरबारमा गाग्रीसहित प्रवेश गर्न पाएनन् । खाली गाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै साम्पाङले गाग्री प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो ।
खानेपानी मन्त्री प्रदिप यादवले धरान मेयर हर्क साम्पाङलाई धरानमा खानेपानीकाे समस्या चाँडै समाधान हुने आश्वासन दिनुभएको छ । खानेपानी मन्त्री यादव भेट्न मन्त्रालय पुग्नुभएको साम्पाङलाई मन्त्री यादवले धरानमा खानेपानीकाे लागि यही वर्ष टेण्डर निस्कने आश्वासन दिँदै खुसी भएर धरान फर्कन आग्रह गर्नुभएको छ ।
मन्त्री यादवले खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यादवले खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने बताउनुभयो।
सिंहदरबारस्थित खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर सिंहदरबारबाट बाहिरिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेयर साम्पाङले धरानमा खानेपानीकाे समस्या समाधान हुनेमा आफू सकारात्मक भएको बताउनुभयो।
मैले उहाँहरुलाई खानेपानीको लागि बजेट सुनिश्चत गरिदिनुपर्छ भनेर मैले भन्दा उहाँहरुले हामी यस विषयमा सम्वेदनशील छौं यसपाली जसरी पनि गर्छौ भन्ने कुरा गर्नुभयो । ५ अर्ब ७२ करोड डिपीआरको लागि बिनियोजन गछौ भन्ने कुरा छ । ’
प्रहरीले गाग्राी खोसेको विषय सामान्य भएको प्रतिक्रिया दिनुभयो । मेयर साम्पाङले "गृह मन्त्रालयले गाग्री नलिइ आउनु भन्नुभएको रहेछ । अब म प्रधानमन्त्रीलाई एउटा पत्र बुझाउँछु ।’ पत्रकारहरुले साम्पाङलाई प्रहरीले खोसेर राखेको गाग्री लिएर जाने कि छोड्ने भन्दै प्रश्न गर्दा वहाँले गाग्री लिएरै जाने बताउनुभयो।
तपाईको प्रतिक्रिया