00:00:00
खेलकुद

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा खेल सप्ताह सम्पन्न

शनिबार माघ ५, २०८१/ Saturday 01-18-25

तिलोत्तमा ।  माघ ५ गते । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही ( नमस्ते एकडेमीमा ) सप्ताहव्यापी खेलकुद कार्यक्रम आज एक विशेष समारोहबीच समापन भएको छ । विद्यालयका प्राचार्य डिलबहादुर बुढाथोकीको अध्यक्षता तथा जिल्ला विकास समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीले पिटि प्रदर्शन , लोगो फर्मेशन ,पुरस्कार वितरणका साथमा नृत्य ,गीत, सङ्गीत समेत प्रस्तुत गरिएको थियो। तिलोत्तमा नगरपालिका वार्ड नम्बर १३ का वार्ड अध्यक्ष नारायण ढकाल र डाक्टर शान्ता शर्माको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा शिक्षक अभिभावक फुटसल , अभिभावक म्युजिकल चेयर , बेलुन ब्लास्ट समेतका खेल कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा विद्यालयका निर्देशक विष्णुप्रसाद भुसाल , डिल्लीनारायण पाण्डेय , पुष्पा कँडेल , श्याम खरेल, डिबि खत्री अभिभावक बाबुराम भट्टराई , ईश्वर चन्द्र पोखरेल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । खेल सप्ताहमा कक्षा पिजीदेखि १२ सम्मका विद्यार्थीले फुटसल , बास्केटबल , एथलेटिक्स ,हाइजम्प , लङजम्प , क्रिकेट , बेलुन रेस , म्याथम्याटिकल रेस , भलिबल , म्युजिकल चेयर , स्पुन रेस , पजल गेम , टगवफ वार लगायतका खेलमा सहभागी भइ विभिन्न विधामा प्राप्त गरेका मेडल तथा प्रमाण पत्र ग्रहण गरेका थिए । पुरस्कार वितरण समरोहमा जिल्ला स्तरीय फुटसल प्रतियोगितामा स्वर्ण पदक विजेता विद्यार्थी तथा कराँते प्रतियोगितामा श्रीलंका , भारत , जापान , मलेसिया पुगेर स्वर्ण र रजत पदक प्राप्त गरेका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चापागाईंले ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले नेपालको शैक्षिक क्षेत्रमा गरेको नौलो प्रयास अनुकरणीय र राज्यका लागि नै फरक तरिकाले सोच्न बाध्य बनाएको बताउनु भयो ।

गुणस्तरीय शिक्षाका लागि आफ्ना बालबालिकालाई काठमाडौ र छिमेकी देशमा पठाउनु पर्ने बाध्यता अन्त्य भएको बताउनस भयो। ब्रिटिस ग्रामर स्कुल रुपन्देही नेपालको सबैभन्दा ठूलो शैक्षिक घराना ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय स्तरको विद्यालय हो। यो विद्यालयका भगिनी शैक्षिक संस्थाहरु चितवन , पोखरा , काठमाडौ , दुबई , क्यानाडा र बेलायतमा रहेको छ । ब्रिटिस ग्रामर स्कुल रुपन्देही मोफसलको एक मात्रै क्याम्ब्रिज सर्टिफाइड विदयालय भएकाले यसको शैक्षणिक र अतिरिक्त क्रियाकलाप ग्लोबल बजार अनुसार हुने भएकाले सम्पूर्ण अभिभावकलाई निर्धक्क साथ आफ्ना नानीबाबुको प्रगतिमा हातेमालो गरि लाग्नुहुन संस्थापक प्राचार्य राजेन्द्र कुँवरले सगौरव जानकारी दिए।

तपाईको प्रतिक्रिया