एआईको प्रयोगले बालबालिकाको सिर्जनात्मक क्षमता र बौद्धिक विकासमा असर
काठमाण्डौ -२०८१ पौष ०८
पछिल्लो समय लोकप्रिय बन्दै गएको जेनेरेटिभ एआईको प्रयोगले बालबालिकाको सिर्जनात्मक क्षमता र बौद्धिक विकासमा बाधा उत्पन्न गरिरहेको एक अध्ययनले देखाएको छ ।
युनिसेफ र चाइल्ड सेफनेटले संयुक्त रूपमा गरेको ‘नेपाली बालबालिकाको अनलाइन सुरक्षामा जेनेरेटिभ एआईको प्रभाव’ अध्ययन प्रतिवेदनले सिर्जनात्मक सीप अभिवृद्धिमा जेन–एआई बाधक रहेको देखाएको हो ।
कृत्रिम बुद्धिमत्ता अर्थात एआईको युगमा विश्व समुदाय प्रवेश गरिरहँदा ‘जेनेरेटिभ एआई’को प्रयोग अहिले विश्वव्यापी रूपमै बढ्दो छ । प्रविधि मार्फत जे सोध्यो त्यही प्रश्नको जवाफ दिनेदेखि फोटो, भिडियो, ध्वनि, सङ्गीत, कथा, कविता, कम्प्युटर कोड, गणितका जटिल हिसाबको समाधान ‘जेनेरेट’ गरिदिन सक्ने जेनेरेटिभ एआईको प्रयोग व्यापक बनेको हो।
यसले दैनिकी सहज बनाए पनि बालबालिकाको सिर्जनात्मक र सीप विकासमा भने असर पर्ने जोखिम रहेको विज्ञहरूले बताएका छन्। बालबालिकाले गृहकार्य गर्न, नयाँ सीप सिक्न र फेसनसम्बन्धी जानकारी प्राप्त गर्न जेन–एआई प्रयोग गर्ने गरेको अध्ययनमा उल्लेख छ ।
अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चाइल्ड सेफनेटकी कार्यक्रम अधिकृत युरिस्ना शाक्यले जेन–एआईले बालबालिकालाई सरल र छिटो उत्तर दिन सक्ने भए पनि यसले उनीहरूको सोच्ने, समस्या समाधान गर्ने र नयाँ कुरा सिर्जना गर्ने क्षमतामा बाधा पुर्याउने अध्ययनको निष्कर्ष रहेको बताउनुभयो ।
अध्ययनले ६५ प्रतिशतभन्दा बढी बालबालिकाले च्याटजीपीटीलाई जेन–एआईको सबैभन्दा लोकप्रिय उपकरणका रूपमा प्रयोग गरेको देखाएको छ ।
तपाईको प्रतिक्रिया