लुम्बिनी प्रदेश सरकार सहकारी सम्वन्धी नीति तथा कार्यक्रम बनाउने तयारीमा
बिन्दु भट्टराई,तिलोत्तमा २९ मंसिर ।
लुम्बिनी प्रदेशका भौतिक तथा पुर्वाधारविकास मन्त्री भुमिश्वर ढकालले प्रदेश सरकार सहकारी सम्वन्धी नीति तथा कार्यक्रम बनाउने तयारीमा रहेको बताउनुभएको छ । उहांले लुम्विनी प्रदेशका सहकारीहरुमा देखिएका विद्यमान समस्यालाई समाधान गर्न प्रदेश सरकार नीति निर्माणमा जुटेको बताउनुभएको हो । राष्टिय सहकारी बैंक लिमिटेड लुम्विनी प्रदेशको शनिबार बुटवलमा सम्पन्न २१ औं साधारण सभाका अवसरमा बोल्दै मन्त्री ढकालले सहकारीहरु पुंजीले पुजी किन्ने भन्दा पनि दक्ष जनशक्ति तथा ब्यवसायी उत्पादन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ । उहांले लुम्बिनी प्रदेश कृषिमा सम्भावना बोकेको प्रदेश रहेको दावी गर्दै यस्ता सम्भावना बोकेका ठाउंहरुमा सहकारीहरुको सकृयताको खांचो औंल्याउनुभयो । मन्त्री ढकालले कृषिमा उत्पादन गरेका सामग्री बजारसम्म ल्याउनका लागि र बजारबाट पर्यटकहरुलाई भित्र्याउनका लागि पनि सडकको अवस्था राम्रो हुनुपर्ने भन्दै सडक गुरुयोजना अगाडि सारेको बताउनुभयो ।
त्यस्तै राष्ट्रिय सहकारी महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले सहकारीहरु ,बिबाद रहित बनाउन संचालक समिति ,कर्मचारी र लेखा सुपरिवेक्षण समितीले इमान्दारिता पालना गर्न सके सहकारी समस्यामा नपर्ने बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड लुम्बिनी प्रदेशका संचालक तथा कार्यक्रमका अध्यक्ष बिजया धितालले सहकारीहरुलाई उत्पादनसंग जोडेको दावी गर्दै सरकारले सहकारी मैत्री बजेट निर्माण गर्न सक्नुपर्ने खांचो औल्याउनुभयो ।
नेपाल बचत तथा ऋण सहकारी संघ नेप्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी , जिल्ला स्तरीय सहकारी संघहरुको तर्फबाट कृषि सहकारी संघका दाङका पद्मा आचार्य, राष्ट्रिय युवा परिषद् तथा पुर्वकार्यकारी सदस्य सन्दिप सापकोटा, पाल्पा बचत तथा रिण सहकारी संस्थाका अध्यक्ष जगदिश भट्टराई लगायतले सहकारीलाई राजनीतिक संरक्षकहरुले लिड गरेकोकोले पनि समस्या उत्पन्न भएको र देखाउन नमिल्ने पुजि जम्मा गर्ने ठाउँ,भ्रष्टाचार गरेको रकम जम्मा गर्ने ठाउँ भएको भन्दै यस्ता केही लिडरका कारण सहकारीलाई हेर्ने गलत भाष्य सृजना भएकोप्रति सचेत गराउनुभएको छ ।
साधारण सभाबाट विभिन्न विधामा उत्कृष्ट सहकारीहरुलाई सम्मान समेत गरिएको छ । जसमा प्रदेश स्तरबाट देवदह साकोस रुपन्देही र संगम बहुउद्धेश्यीय सहकारी संस्था पाल्पा,केन्द्रिय स्तरबाट तिलोत्तमा बहुमुखी सहकारी संस्था र देशैभरिबाट उत्कृष्ट बचत तथा ऋण प्रवाह गर्ने संस्थाको रुपमा सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड शंकरनगर सम्मानित भएका हुन् ।
तपाईको प्रतिक्रिया