00:00:00
खेलकुद

ओडीआई वरियतामा नेपालको एक स्थान सुधार 

बिहीबार भदौ ६, २०८१/ Thursday 08-22-24

रेडियो लुम्बिनी ।  भदौ ६ गते ।  नेपाल ओडीआई वरियतामा १ स्थान माथि उक्लिएको छ । वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) ले निकालेको पछिल्लो वरियताक्रममा नेपाल १६ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औँ स्थानमा थियो । क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरियतामा पछि पारेको थियो ।

तर नेदरल्यान्ड्समा भइरहेको त्रिकोणात्मक सिरिजको चारै खेलमा पराजित भएपछि क्यानडाको वरियता खस्किएको हो । दुई स्थान खस्किएर क्यानडा १८ औँ स्थानमा पुगेको छ । एसोसिएट तर्फको शीर्ष स्थानमा स्कटल्यान्ड रहेको छ । नेपाल भन्दा अघि रहेका एसोसिएट राष्ट्रमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । ओडीआई वरियताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन् । टी ट्वान्टीआईतर्फ भने नेपाल १७ औँ स्थानमा कायमै रहेको छ । टी ट्वान्टीआईको शीर्ष स्थानमा भारत छ ।

तपाईको प्रतिक्रिया