00:00:00
स्थानिय

तिलोत्तमामा करिब ९५ प्रतिशत धान रोपाईं सम्पन्न

सोमबार असार ३२, २०८१/ Monday 07-15-24


तिलोत्तमा,३१असार । बिन्दु भट्टराई
धान रोपाईं हुने क्षेत्रफलमध्ये तिलोत्तमा नगरपालिकामा असार सकिनै लाग्दासम्म करिब ९५ प्रतिशत धान रोपाईं सकिएको  छ । नगरपालिकाका  अनुसार  तिलोत्तमामा ६ हजार ८४ हेक्टर क्षेत्रफल धान रोपाईंका लागि योग्य जमिन रहेको छ । जसमा ५ हजार ४ सय ४६ हेक्टर क्षेत्रफलमा मात्रै धान खेती गरिने तिलोत्तमा कृषि शाखा प्रमुख दोमलाल भुसालले बताउनुभयो । उहांका अनुसार ५ हजार १ सय ७४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ भने धान रोपाई हुन ५ प्रतिशत (२७२ हेक्टर क्षेत्रफल) बांकि छ । 

त्यस्तै ६ सय ३८ हेक्टर क्षेत्रफल अन्य (पशु पालन,घांस,प्लटिङ) लगायतले ओगटेको छ । लगातारको वर्षाका कारण डुवानमा परेका स्थानमा धान रोपाईं हुन बांकि रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार त्यसका लागि  बीउ जोगाएर राखेको र पानी कम हुनासाथ रोपाईं गरिने छ । तर विउ जिन्निएपछि रोप्नु र नरोप्नुमा फरक नपर्ने कृषि शाखा प्रमुख भुसालले दाबी गर्नुहुन्छ । बीउ छिप्पिएपछि उत्पादकत्व घट्दै जान्छ,सकेसम्म २२ देखि २५ दिन भित्रको बीउनै रोप्नुपर्छ’भुसालले भन्नुभयो ।  यसमा एसआरआई प्रविधिमा छोटो समयमा चैते ५ लगायतका बीउ तयार पार्ने र रोप्ने गर्न समेत भुसालले किसानलाई  सुझाव दिनुभएको छ । यसले छोटो समयमा बाली दिने र उत्पादकत्वमा वृद्धि हुनेप्रति समेत उहांले किसानलाई सचेत गराउनुभयो । 

तिलोत्तमामा सिंँचाइको ठूलो स्रोत हुँदाहुदै पनि विगतका वर्षहरुमा पानीको अभावका कारण समयमा धान रोपाइँ हुन नसक्दा उत्पादनमा कमी आउने गरेको थियो । यसपाली समयमै धान रोपाइँ सम्पन्न हुँदा यो वर्ष नगरपालिकामा उत्पादनमा बृद्धि हुने भुसालको अनुमान रहेको छ ।  


 

तपाईको प्रतिक्रिया