00:00:00
राष्ट्रिय

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

रुपन्देहीमा पनि छठको रौनक बढदो 
आइतबार मङ्सिर ३, २०८०/ Sunday 11-19-23

तिलोत्तमा । कार्तिक ३ गते । आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

आज सप्तमी तिथि भए पनि भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद् डाक्टर वीरबहादुर महतोले जानकारी दिनुभयो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ ।

यो परम्पराअनुसार अस्ति चतुर्थीदेखि छठपर्व शुरु भएको हो । यसपालि तिथिको घटबढका कारण हिजो पञ्चमी र षष्ठी तथा आज षष्ठी र सप्तमी तिथि परेको छ । तिथि घटबढ भए पनि यसवर्ष पनि पहिलेजस्तै चार दिन नै छठ पर्व मनाइने भएको हो।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ लगायतको बढी प्रयोग गरिन्छ । छठका लागि तराई मधेस र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् ।

पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाइन्छ । मधेसी समुदायको भनेर मानिने छठ पूजा पहाडी समुदायमा पनि बढ्दै गएकोले सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ । काम गर्न टाढा पुगेका परिवारजन छठ पर्वका लागि घर आएका छन् ।

पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ ।  छठ पर्व कै अवसरमा राष्टपति, प्रधामन्त्री लगायत विभिन्न उन्च पदस्थ पदमा आसिन व्यक्ति विशेषले पनि सम्पुर्ण नेपालीजनमा सुख, शान्ति, समुद्धी एवं उत्तरोत्तर प्रगतिका ेकामना गरेका छन । 

यसैबीच रूपन्देहीमा पनि छठ पर्वको रौनक र चहलपहल बढेको छ । विशेषगरि जिल्लाका गैडहवा गाउँपालिका–६ सुर्यपुराको दानव नदी किनारस्थितको सन्तेश्वरघाट, तिलोत्तमाको वडा न १६ मा पर्ने जुडास्थित लौसीं खोला, तिलोत्तमा कै वडा न १४ र १५ का बिभिन्न खोलानाला, ओमसतियाका बिभिन्न नदीनाला, भैरहवाको बसडिलवास्थित पोखरी, लुम्विनी र मर्चवार लगायतका नदी, खोला, ताल तलैया एवं घाटहरुमा आज बिहानैबाट पुजाआजा गर्नेहरुको भिडभाड बढेको छ ।

बत्रालुहरुले आज रातभर जाग्राम बसेर छठी माईको पुजाआजा गर्नु पर्ने भएकाले ती स्थानहरुलाई बेहुली झै सिगांरेर झकिझकाउ पारिएको छ भने पुजाआजा तथा मेला भर्न जादा हुनसक्ने चोरी लगायतका घटना हुन नदिन सुरक्षा निकायलाई चुस्तदुरुस्त पारिएको रुपन्देही प्रशासनले जनाएको छ ।

यसैबीच आज गैडहवा गाउँपालिकामा लाग्ने छठ पर्व मेलाको सम्पुर्ण तयारी पूरा भएको छ । जिल्लाको गैडहवा गाउँपालिका–६ सुर्यपुराको दानव नदी किनार स्थित सन्तेश्वर घाटमा लाग्ने मेलाको तयारी पुरा भएको पत्रकार सम्मेलनमार्फत गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले जानकारी दिनुभयो । मेलाका लागि पुजा समिति बनाएर स्थानीयबाट आर्थिक संकलन गरिएको र कार्यक्रम व्यवस्थित र भव्य बनाउन गाउँपालिकाले समेत आर्थिक सहयोग गरेको अध्यक्ष पौड्यालले जानकारी दिनुभएको छ ।

दानव नदीको सन्तेश्वर घाटमा लाग्ने मेला जिल्लाकै भव्य मेला भएको र यो मेलाले गाउँपालिकाको धार्मिक तथा पर्यटन पर्वद्धनमा समेत टेवा पुग्ने पौडेलको भनाई छ ।  यसैगरी 

रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी पूरा भएको छ । छठ पर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ । 

विगतमा विशेष गरी मधेशी समुदायले मनाउँदै आएको छठ पर्व अहिले नेपालको साझा पर्व बनेको श्री छठ पूजा समारोह व्यवस्थापन समिति सिद्धार्थनगर–५ भैरहवा, रुपन्देहीका संयोजक आनन्द प्रसाद गुप्ताले बताए । सिद्धार्थनगर–५ स्थित श्री कालीभक्ति गण (ई) मा आइतबार दिउँसो ३ बजेदेखि छठपूजा सुरु हुने गुप्ताले जानकारी दिए ।  

विगत ६५ वर्षदेखि श्री कालीभक्ति गण (ई) मा छठपूजन समारोह भव्य रुपमा भइरहेको उनले बताए । संयोजक गुप्ताका अनुसार आइतबार दिउँसो लुम्बिनी प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेय र सोमबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा छठ पूजन समारोह हुनेछ । 

छठपूजा अघि दिउँसो २ बजे सिद्धार्थनगर–४ स्थित श्री रामजानकी हनुमान मन्दिरदेखि झाँकीसहित शोभा यात्रा निकालिने उनले बताए । शोभा यात्रामा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने संघ–संस्था, समूहलाई पुरस्कृत गर्ने र सो का लागि गोविन्द प्रसाद बस्यालको संयोजकत्वमा मूल्यांकन समिति गठन गरिएको गुप्ताले जानकारी दिए । समितिको सदस्यहरुमा सीताराम भक्त, दशरथ भक्त, सरस्वती श्रेष्ठ र श्रीराम गुप्ता रहेका छन् । 

संयोजक गुप्ताले छठ पूजा भव्य सभ्य रुपमा सम्पन्न गर्न श्री कालीभक्ति गण (ई) ले निरन्तर सहयोग गर्दै आएको बताए । उनले छठ पूजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास भएकाले यो पर्वको विशेष महत्व रहेको बताए ।

 

तपाईको प्रतिक्रिया