00:00:00
राष्ट्रिय

विजयादशमीको दिनदेखि सुरु भएको टिका थाप्ने क्रम आज चौथो दिन पनि जारी

शुक्रबार कार्तिक १०, २०८०/ Friday 10-27-23

तिलोत्तमा । विजयादशमीको दिनदेखि सुरु भएको टिका थाप्ने क्रम आज चौथो दिन पनि जारी छ । घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम जाग्रत पूर्णिमाको दिनम्म जारी रहन्छ ।  

विजयादशमीको दिन टिका र प्रसाद ग्रहण गर्न नभ्याएकाहरू आजपनि मान्यजनबाट टिका र प्रसाद ग्रहण गरिरहेका छन । विजयादशमीको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र हरियो पहेँलो जमरा ग्रहण गर्ने गरिन्छ । घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने परम्परा रहेको छ । टिका लगाउनेहरू सडकमा हिँडडुल गरेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ ।

काठमाडौैँ उपत्यकाबाट गाउँ गएकाहरू पनि विस्तारै काठमाडौँ फर्किन थालेकाले पनि बजार र सडकमा भिडभाड देखिन थालेको छ । आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि, वैभव र ऐश्वर्य प्राप्त हुने विश्वास रहि आएको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रूपमा लिने गरिन्छ  ।

तपाईको प्रतिक्रिया