राजनीतिभन्दा माथी उठेर मानवीय विकासमा एकजुट हुन आवश्यक छ- सामाजिक बिकास मन्त्री चन्द्र केश गुप्ता
तिलोत्तमा,५ असोज । बिन्दु भट्टराई
सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्र केश गुप्ताले वर्तमान अवस्थामा देखिएका कानुन बिपरितका कार्यहरुमाथी आम जनमानस सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहांले मन्दिरमा पुजा गर्ने पुजारी देखि हरेक संघ संस्थामा राजनीतिको छायां परेको भन्दै राजनीतिभन्दा माथी उठेर मानविय बिकासमा एकजुट हुनुपर्ने खांचो औंल्याउनुभयो । सेतो गुरांस बाल विकास सेवा रुपन्देहीको २५ औं बार्षिक साधारण सभा एवं सामाजिक परिक्षण कार्यक्रम बुटवलमा सम्पन्न कार्यक्रममा गुप्ताले बालबालिकाको चौतर्फि बिकासका लागि सेतो गुरांस संस्थासंग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महिला तथा बालबालिकाका क्षेत्रमा सेतो गुंरास बालविकासले गरेको कार्यको प्रशंसा ब्यक्त गर्दै संस्थाले गरेका कामसंगै बुटवल उपमहानगरपालिका पनि संगसंगै हुने उल्लेख गर्नुभयो ।
त्यस्तै कार्यक्रममा तिलोत्तमा टेलिभिजन तथा रेडियो लुम्बिनीका कार्यकारी प्रमुख मिनाक्षी न्यौपानेले सामाजिक परिक्षण कार्यक्रमको सहजीकरण गर्दै मानविय विकासमा भएको प्रगति र सेतो गुंरास बालविकासले गरेका काम र बांकि गर्नुपर्ने विषयमा सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा बिदेशमा रोजगार गुमाएर फर्किएर सेतो गुरांसको सहयोगमा कृषी पेशा गरेर अगाडि बढेका कृषकको अनुभव, रोजगार विहिन केही महिलाहरुलाई संस्थाले स्वरोजगार बनाउन गरेका सहयोगले पाएका सफलताका अनुभव समेत प्रस्तुत गरिएको थियो ।
गैर सहकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज गोविन्द प्रसाद रेग्मीले महिला तथा बालबालिकाका क्षेत्रमा धेरैनै काम गर्न बांकि भएको भन्दै आगामी दिनमा छलफल गरेर कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
सम्मरीमाई गांउपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र भट्टराई ले पोषण कार्यक्रम संचालन देखि बालबालिकालाई बिद्यालयमा भएको चुनौती र समाधानमा गाउंपालिकाको योजनाका विषयमा बोल्नुभएको थियो । त्यस्तै किदसाका कार्यक्रम विश्लेषक कृपासुर निरौलाले बालबालिकाका गुनासा र सुझाव संकलन गर्दै कृयाशिल बालबालिकाका अनुभवलाई समेट्न आवश्यक रहेको भन्दै यसले बालबालिकाकाका वास्तविक अवस्था पहिचानमा सहयोग पुग्ने बताउनुभयो । उहांले समुदायभित्र विभिन्न कला साधन स्रोत भएकोले समुदायमा भएका साधनस्रोतलाई समुदाय भित्रका ब्यक्तिबाटै प्रयोग गर्ने गरी काम गर्न आग्रह समेत गर्नुभयो ।
त्यस्तै बुटवल उपमहानगरपालिका बालसंजालका अध्यक्ष सक्सेस रानाले पालिकाले सहभागिता सुनिश्चित गर्न नसकेको गुनासो गर्नुभयो ।
अध्यक्ष ओमिकला गाहा पुनले अध्यक्षताको प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा ,संगठनात्मक प्रतिबेदन सचिव मन्जु श्रेष्ठले प्रस्तुत गर्नुभयो भने , सेतोगुंरास बालविकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्माले कार्यक्रमको संचालन गर्नुभएको हो ।
तपाईको प्रतिक्रिया