क्रिमसन अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको उपचार शुरु
तिलोत्तमा २०८० भदौ १६
क्रिमसन अस्पतालले सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी तथा श्रमिकको उपचार सेवा शुरु गरेकोे जनाएको छ । आजबाट लागु हुने गरि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको उपचार गर्न शुरु गरिएको अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
सम्झौता अनुसार अब परिचयपत्र (कार्ड) देखाएर क्रिमसन अस्पतालबाट ८० प्रतिशत छुट सहित उपचार गर्न पाइने भएको छ । योगदानकर्ताले अब क्रिमसनमा उपचार गर्दा लागेको कुल रकमको २० प्रतिशत मात्रै रकम बुझाए् पुग्नेछ । जिफण्ट रुपन्देहीका अध्यक्ष तिलोत्तमा ७ भलवारी निवासी केशवराज उपाध्यायले आज क्रिमसन अस्पतालमा पहिलो सेवाग्राहिको रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीको रुपमा सेवा लिनु भएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिनुभयो ।
अनलाइन सेवा सञ्चालन भएका क्रिमसन लगायतका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गतका स्वास्थ्य सुविधा लिँदा योगदानकर्ताले पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् ।
सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७५ बमोजिम नियमित योगदान गर्ने योगदानकर्ताले अब सरल र सहज ढंगबाट आफ्नै गाउँठाउको क्रिमसन अस्पतालबाट सरल स्वास्थ्य सुविधा पाउने गरि संझौता गरिएको अस्पतालका निर्देशक शेखर पोख्रेलको भनाई छ ।
तपाईको प्रतिक्रिया