प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा मिडिया सम्मेलन २०८० १३ बुंदे बसन्तपुर घोषणापत्र जारी गर्दै सम्पन्न
तिलोत्तमा, २ भदौ ।
प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा मिडिया सम्मेलन २०८० ले १३ बुंदे बसन्तपुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । भदौ १ र २ गते बुटवलमा सम्पन्न मिडिया सम्मेलन २०८० ले १३ बुंदे बसन्तपुर घोषणापत्र जारी गरेको हो ।
समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसहरुमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सवलीकारणका कार्यक्रम सञ्चालन गर्न घोषणापत्रमा माग गरिएको छ ।
यस्तै तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ । सरकारले संचार गृहलाई दिंदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत बृद्धि गर्न, रेडियोहरु र टेलिभिजनको लाइसेन्स नविकरण व्यवस्थालाई सरल र सहज बनाउन , दर्ता विना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानूनी दायरामा ल्याउन , संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न माग गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेको मिडिया सम्मेलनमा नेपाल प्रेस काउनसीलका अध्यक्ष बालकृष्ण बस्नेत,वरिष्ठ पत्रकारहरु कनकमणि दीक्षित,युवराज घिमिरे,डा. बालकृष्ण चापागाई, बीबीसी नेपाली सेवाका माधव नेपाल लगायतले मोफसलका मिडियाको सबलिकरणले मात्रै तीनै तहका सरकार प्रभावकारी ढंगले सञ्चालन हुन सक्ने र लोकतन्त्र सुदृढ हुने धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया