तिलोत्तमा मेयरले आफै सुरुवात गरे अव्यवस्थित तारको व्यवस्थापन
तिलोत्तमा, २०८० साउन ४
तिलोत्तमा नगरपालिकाले सडक कुरुप बनाइरहेका इन्टरनेट तारको व्यवस्थापन थालेको छ। नगर प्रमुख रामकृष्ण खाणले आफै सडक किनारका विद्युतका पोलहरूमा निरिक्षण गर्दै अव्यवस्थित तार काटी सो अभियानको थालनी गर्नुभएको हो ।
हरियाली प्रबर्द्धन तथा सरसफाई अभियानलाई दिगो रुपमा अगाडी बढाइरहेको नगरपालिकाले जथाभावी टाँगिएका विभिन्न सेवाप्रदायक कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको समन्वय र उपस्थितिमा बुधबार बिहान बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगिकुटी चोकबाट उक्त कार्यको सुरूआत गरिएको नगर प्रमुख खाणले बताउनुभयो ।
नगरप्रमुख खाणले एउटै पोलमा विद्युतको तारसँगै इन्टरनेट र केबलका दर्जनौं कम्पनीका तारहरू जथाभावी टाँगिदा आगलागीका घटना समेत हुने गरेको र पोलमा आगलागी हुँदा नजिकैका घरमा आगलागी हुनसक्ने र विद्युतीय उपकरणहरू सर्ट हुने जोखिम बढिरहेकोले तारहरूलाई व्यवस्थित बनाउन सुरू गरिएको बताउनुभयो। नगरका मुख्य चोक, सडक किनार र घर अगाडि नै कुरूप बनाउने गरी टाँगिएका तारहरूलाई हटाउन नगरपालिकाले सरोकारवालालाई आग्रह गरेको थियो।
सो अवसरमा सेवा प्रदायक संस्थालाई ६ महिना भित्र सबैको सहकार्यमा सो तार व्यवस्थित गर्न तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले आग्रह गर्नुभएको छ। जनाप्रतिनिधीको अघिल्लो कार्यकालमा समेत पटक पटक उठाएको सो कुरा बल्ल पुरा भएकोमा पाठकले खुसी व्यक्त गर्दै सबैको सहयोगले तार हटाउन सम्भव भएको बताउनुभयो। सो अवसरमा बोल्दै सुचना तथा प्रबिधी शाखा प्रमुख इन्जिनियर सुदिप ढकालले स्मार्ट सिटीको परिकल्पनामा हिडेको नगरपालिकाको सरसफाई र हरियाली तथा सुन्दरतामा असर गरिरहेको इन्टरनेट तार व्यवस्थित गराउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
सो अभियान अन्तर्गत पहिलो चरणमा हाइवे प्रमुख सडकको दाँया बाँयाका पोल हरुमा भएको नचाहिने तार , गुजुल्टो तार, फ्याँकिएका तारहरु व्यवस्थित गराई ६ महिना भित्र हाइवे संगै, भित्री सडक , गाउँघर तर्फका सबै तार व्यवस्थित गरिने तिलोत्तमा नगरपालिकाले जनाएको छ।
तपाईको प्रतिक्रिया