त्रिभुवन विमानस्थलमा यात्रुको बिदाइ र स्वागतमा तीन जनामात्रै जान पाउने
काठमाण्डौ २०८० असार १२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ र स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाको भनाइ अनुसार विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन परिसरमा भिड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै याे निर्णय गरिएको हो । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जनामात्रै जान पाउने निर्णय गरेको हो ।
टर्मिनल भवनमा धेरै भिड हुने गरेको र यात्रुलाई सास्ती भइरहेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको साथै दुर्घटनाको जोखिमसमेत बढेकाले त्याे निर्णय गरिएको प्रवक्ता सिटौलाले बताउनुभयो । विभिन्न गन्तव्यमा जाने यात्रुको बिदाइमा परिवार र आफन्तहरुको भिड लाग्ने गरेकोले अन्तर्राष्ट्रिय टर्मिनलमा साँझदेखि राति १० बजेसम्म अत्यधिक भिड हुने गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपाली सहित ३० वायु सेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायु सेवा प्रदायकले उडान भरिरहेका छन् ।
तपाईको प्रतिक्रिया