तिलोत्तमामा विद्युत मर्मत गर्दा करेन्ट लागेर १ कर्मचारी गम्भीर घाइते
प्रकाश पाण्डे,तिलोत्तमा
२०८० असार ८
सिद्धार्थ राजमार्ग अन्तर्गत सिक्सलेन सडकखण्डको तिलोत्तमा ९ शंकरपुर नजिक हाईटेन्सन लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जना विद्युत कर्मचारी गम्भीर घाइते भएका छन् ।
आज बिहान करिब ५ बजे हाईटेन्सन लाइन मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरण नयाँमिल प्रशाखाको प्राबिधिक पदमा कार्यरत तिलोत्तमा १७ भरौलिया निवासी ३२ बर्षिय हरि चौधरी गम्भीर घाइते भएका हुन् । गम्भीर घाइते चौधरीलाई तत्काल उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पतालमा ल्याइएको थियो ।
उपचारका लागि अस्पताल ल्याउँदा बिरामीको अवस्था जटिल भएपनि आकस्मिक कक्षमा उपचार गरेपछि बिरामीको अवस्था केहि सहज बनेको र परिवारजनको आग्रहमा चौधरीलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौं स्थित मेडिसिटी अस्पताल रिफर गरिएको क्रिमसन अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत मनमोहन भट्टराईका अनुसार यस्ता प्रकृतिका घाइते बिरामीहरुको क्रिमसन अस्पताल मै समेत सहज उपचार हुने गरेको छ । गम्भीर घाइते चौधरीको हात, खुट्टा, मुख लगायत शरीरका विभिन्न भाग जलेको तथा टाउकोमा रगत जमेको अस्पताल स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया