५ लाखले आजदेखि एसईई दिँदै
दृष्टिविहीन र प्राविधिक धारका विद्यार्थीलाई घरपायक परीक्षा केन्द्र
काठमाडौँ २०७९ चैत्र १७
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखी सुरु हुने भएको छ । देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालन हुँदै छ । परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन् ।
प्रश्नपत्र, उत्तरपुस्तिका, प्रवेशपत्रलगायत परीक्षा सामग्री केन्द्रमा पुर्याइसकेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो तर ६ वटा अनिवार्य विषयका प्रश्नपत्र भने प्रदेश अनुसार फरक–फरक तयार पारिएको छ । ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदै छन् । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने बोर्डले जनाएको छ ।
यस पटक दृष्टिविहीन विद्यार्थी र प्राविधिक धारतर्फका विद्यार्थीका लागि घरपायक केन्द्र कायम गरिएको नियन्त्रक श्रेष्ठले बताउनुभयो । स्रोतकक्षा नजिकको परीक्षा केन्द्रले ती विद्यार्थीको परीक्षा सञ्चालन गर्ने वहाँले बताउनुभयो । ५५ जना दृष्टिविहीन विद्यार्थीले यसपालि एसईई दिँदै छन् । यसअघि दृष्टिविहीन विद्यार्थी पनि अभिभावकको सहारामा परीक्षा केन्द्रसम्म पुग्नुपर्ने बाध्यता थियो ।
त्यसै गरी जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ, राजधानी टोकियोस्थित केन्द्रबाट १४ जनाले एसईई दिँदै छन् ।
तपाईको प्रतिक्रिया