चैत ७, परासी
नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई बर्दघाट नगरपालिकाले सम्मान गरेको छ । काठमाडौमा सम्पन्न एकदिवसिय क्रिकेटमा युएइलाई पराजित गर्दै विश्वकप छनौट प्रतियोगितामा नेपाल प्रवेश भएसँगै टिम कप्तान समेत रहेका बर्दघाट नगरपालिका वडा नम्बर १४ निवासी पौडेललाई नगरपालिकाले नगद ५१ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै पौडेलप्रति प्रशंसा व्यक्त गर्नुभयो। उहाँले क्रिकेटको लागि मैदानको ब्यवस्थापन हुन नसक्दा खेलाडीलाई केही अप्ठेरो भएको बताउँदै नगरले जग्गा ब्यवस्थापन गरी क्रिकेट मैदान बनाउन पहल गर्ने बताउनुभयो ।
कप्तान पौडेलले सम्मान गरेकोमा आभार ब्यक्त गर्दै स्थानीय स्तरमा खेलाडी उत्पादनमा भौतिक पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले खेल क्षेत्रमा लगानी गर्नुपर्ने र खेलाडीलाई उचित तालिमको ब्यवस्थापन गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रवक्ता सन्तु गाहालगायतले शुभकामना दिनुभएको थियो।
मंगलबारै लायन्स क्लव अफ नवलपरासी दाउन्नेले पनि कप्तान पौडेललाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । यसअघि हिजो सोमबार नवलपरासीका विभिन्न सँघसँस्थाहरुले सम्मान गरेका थिए ।
तपाईको प्रतिक्रिया