00:00:00
खेलकुद

आईसीसी विश्व कप क्रिकेट लिग–२ : नेपालले यूएईलाई १ सय ७७ रनले हरायो

आइतबार फाल्गुण २८, २०७९/ Sunday 03-12-23

फागुन २८, काठमाडौं
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भयो ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयो । यो जितसँगै नेपालले दुई खेलअघि नै एकदिवसीय मान्यता जोगाएको छ । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाको चौथौ स्थानमा उक्लिएको छ ।

एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ । नेपालसँगको हारसँगै यूएईको एकदिवसीय मान्यता खतरामा परेको छ । ३४ खेलमा ३१ अङ्क भएको यूएई तालिकाको छैटौँ स्थानमा छ । पाँचौँ स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क छ । नामिबिया ३६ खेलमा ३९ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । यो जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ ।

अब नेपालले लिग–२ को अन्तिम शृङ्खलाको बाँकी दुइटै खेल जित्नुपर्ने हुन्छ । नेपालले अब भोलि सोमवार पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ । 

तपाईको प्रतिक्रिया