00:00:00
स्थानिय

तिलोत्तमा ६ मा ४० कुकुरको बन्ध्याकरण

शनिबार फाल्गुण २७, २०७९/ Saturday 03-11-23

तिलोत्तमा,२७ फागुन । 
बिन्दु भट्टराई । 
तिलोत्तमा नगरपालिका वडा नं ६ मा छाडा कुकुरको बन्ध्याकरण गरिएको छ ।  वडाभित्र रहेका करिव ४० वटा कुकुरको शनीबार बन्ध्याकरण गरिएको हो ।  
सडक, सामुदायिक अर्थात छाडा कुकुरको जनसंख्या बृद्धिलाइ रोक्न यो अभियान संचालन गरेको वडा अध्यक्ष गणेश पाठकले बताउनुभएको छ  । वडामा छाडा कुकुरको संख्या बढ्दै जाँदा बिभिन्न दुर्घटना, रेविज रोग लगायतको जोखीम  बढ्ने भएकाले यसलाई जोड दिईएको बताउनुभयो । पाठकले छाडा कुकुर आक्रामक  र रातीमा होहल्ला गर्ने,घरपालुवा कुखुरा बाख्रा खाने समेतको समुदायले भोगेको हैरानीलाई ध्यानमा राखि यो कार्यलाई  तिव्रता दिएको बताउनुभएको छ । पाठकले वडा स्तरमा यो संख्यामा बन्ध्याकरण गर्ने नेपालमै पहिलो वडा   भएको समेत दावी गर्नुभयो ।

वडा ,नगरपालिका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चरको आर्थिक सहयोगमा जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा कुकुरका लागि भ्यासेक्टोमी र पोथी कुकुरका लागि मिनील्याप गरिएको जानकारी दिईएको छ ।  युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चरका अध्यक्ष डा. तिलकराम भुसालले स्थानिय तहसंग समन्वय गर्दै आएको र आज सम्म आउंदा ठुलो संख्यामा कुकुरको बन्ध्याकरण गर्न सफल भएको बताउनुभयो ।  उहांले सडक सामुदायिक कुकुरको नियन्त्रण र रेविज उन्मुलनकालागि बन्ध्याकरण विधि एक मात्र उपाय भएको स्पष्ट पार्नुभयो   ।

त्यस्तै कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चरका कार्यक्रम संयोजक आयुस काफ्लेले वडामा  हिजोदेखि सुरु गरिएको बन्ध्याकरण कार्यक्रम आज सकिने बताउनुभयो । अन्य वडाको तुलनामा यो वडामा अलि बढि कुकुर भएको जानकारी पाए अनुरुप कार्यक्रमलाई अगाडि बढाएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा समाजसेवी तथा रेडियो लुम्विनी तथा तिलोत्तमा टेलिभिजनका उपाध्यक्ष अर्जुनराज उपाध्यायले एक समय छाडा चौपाय तथा कुकुरहरुलाई समुदायमा कुरुप बनाएको बाहनामा पशुहत्या गरिएको सन्दर्भलाई स्मरण गर्दै पछिल्लो समय छाडा ब्यवस्थापनका लागि गरिएको यस्ता कार्यक्रमले बांच्न पाउने पशु हक अधिकारमा टेवा पुर्याएको बताउनुभयो । उहांले वडा नं ६ खोलाको नजिक भएकोले खोलामा फालिएको फोहोर खान पाईने लोभमा प्रभावित टोललाई बढि कुकुरको विगविगि भएकोप्रति मध्यनजर गर्दै कार्यक्रम ल्याएको. भन्दै नगर तथा वडाप्रति आभार ब्यक्त गर्नुभयो ।  

 तिलोत्तमाको वडा नम्बर ६ गोरकट्टा चोकमा रहेको रिवरसाईड युथक्लवको भवनमा  छाडा कुकुरहरुलाइ नियन्त्रणमा लिएर स्थायी बन्ध्याकरण तथा मिनील्याप गरीएको रिभरसाईड युथक्लवका अध्यक्ष दिवस थापाले जानकारी दिनुभयो ।उहांले समुदायमा देखिएको टड्कारो समस्या समाधानमा सहजीकरण गर्ने नगर, वडा, कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चरलाई धन्यवाद समेत दिनुभएको छ । 


 

तपाईको प्रतिक्रिया