यू–१९ विश्व कप छनोटमा नेपालको चौथो जित, मलेसिया १० विकेटले पराजित
फागुन १६, काठमाण्डौ
आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल लगातार चौथो पटक विजयी भएको छ । मङ्गलवार यूएईमा भएको खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चौथो पटक जितेको हो । मलेसियाले दिएको ७३ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई भेट्टाएको हो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भएको होे । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिएका हुन् भने आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले १ विकेट लिएका हुन् ।
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो । यो जितसँगै नेपाल ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
अब नेपालले आउदो बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ । यूएईलाई हराएमा नेपाल समूह विजेता बन्दै विश्व कपमा छनोट हुनेछ । १९ वर्षमुनिको विश्व कप आउँदो वर्ष श्रीलङ्कामा हुँदैछ । यो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई गरी ६ टोली सहभागी छन् ।
तपाईको प्रतिक्रिया