रुपन्देहीमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सुरु
भैरहवा, १६ फागुन ।
‘ट्राफिक नियमको पालना सभ्य समाजको सृजना’ भन्ने नाराका साथ मंगलबारदेखि रुपन्देहीमा सवारी दुर्घटना न्यूनीकरण तथा लेन अनुशासनसम्बन्धी सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम–२०७९ सुरु भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको आयोजनामा कार्यक्रम सुरु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकार राज पन्तले ८० प्रतिशत दुर्घटना मानवीय लापरवाहीका कारण हुने भएकाले सार्वजनिक तथा निजि सवारीसाधन तथा ट्रक चालकलाई सडकमै प्रशिक्षण दिने र सडक लेन अनुशासनसम्बन्धि ज्ञान दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
पहिलो दिन आज भैरहवाको देवकोटाचोकबाट सुरु भएको प्रभातफेरी बैंकरोड, मिलनचोक, प्रहरीटोल, नारायणपथ, बर्मेलीटोल हुँदै बुद्धचोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले सवारीसाधनमा ट्राफिक सचेतनासम्बन्धि कुरा लेखिएका स्टिकर टाँसेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाई र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति भएको बताउँदै सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र सफल नहुने भएकोले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो । प्रभातफेरीमा प्रहरी, सशस्त्र प्रहरी, उद्योगी, व्यवसायी, विद्यार्थी, शिक्षक लगायतको उपस्थिति भएको थियो ।
तपाईको प्रतिक्रिया