गृह मन्त्रालय नपाए सरकार छाड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्केत
माघ १७, काठमाण्डौ
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने चेतावनी दिएको छ। आज मङ्गलवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय यसअघि नै आफ्नो पार्टीको भागमा परेकाले अब पनि आफूहरूले नै पाउनुपर्ने दाबी गर्नुभएको हो ।
लामिछानेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले गृह मन्त्रालय नपाउने हो भने सरकारलाई दिएको समर्थन नै फिर्ता लिन सक्ने चेतावनीसमेत रास्वपाले बताएको छ। तर, आज बिहानको भेटमा प्रधानमन्त्री दाहालले गृह मन्त्रालय लिँदा स्वार्थ बाँझिने र बाहिर जवाफ दिन अप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन लामिछानेलाई आग्रह गर्नुभएको छ ।
सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उहाँको सांसद र उपप्रधान एवम् गृहमन्त्री पद खारेज भएको थियो । लामिछानेको पद खारेजीपछि गृह मन्त्रालय आफैँ राख्ने माओवादीको तयारी छ । गृह मन्त्रालय नछाड्न दाहाललाई पार्टीका नेताहरूले दबाब दिँदै आएका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको हो।
तपाईको प्रतिक्रिया