सुस्ता (नवलपरासी), २ माघ
अतिक्रमणविरुद्ध आन्दोलनका अगुवाई गर्दै आएका गोपाल गुरुङले सहयोगको याचना गर्नुभएको छ । नवलपरासीको सुस्ता गाउँ भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको नेपाली भूभाग हो । नेपाली भूमि रक्षाका लागि ‘सुस्ता बचाउ अभियान’ मार्फत आन्दोलन गर्दै आएका ६२ वर्षिय गुरुङ अहिले सिकिस्त बिरामी हुनुहुन्छ । विगत २४ वर्षदेखि भारतीय ज्यादतीविरुद्ध सुस्ताको भूमि रक्षाका लागि लड्दै आउनुभएको गुरुङको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
अकस्मात मष्तिष्क घात (ब्रेन हेम्ब्रेज) भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो । आर्थिक अवस्था कमजोर भएका गुरुङका परिवारले अहिलेसम्म सरसापट गरेर उपचारमा करिब ६ लाख बढी खर्चेका छन् । आईसीयूमा उपचार हुँदै आएका गुरुङलाई दुई दिनदेखि भेन्टिलेटरमा सारिएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोग गरिदिनुहुन उहाँकी छोरी प्रसन्त गुरुङले आग्रह गर्नुभएको छ ।
सुस्ता बचाउ अभियानले पनि विज्ञप्ती निकालेर गोपालको उपचारमा सहयोग गर्न आव्हान गर्दै उनको नाममा बैंक खातासमेत खोलेको छ । अहिलेसम्म कुनै सहयोग नआएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनुभयो । देशको भूमि बचाउका लागि लड्दै आउनु भएका गुरुङ अहिले आफैलाई बचाउन आग्रह गरेकाले सरकारले उहाँको उपचारमा सहयोग गर्नुपर्ने जयसवालको भनाई छ ।
नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि सुस्तामा बसेर अतिक्रमणको विरुद्ध लड्दै आउनु भएको हो । २०६२ सालदेखि भारतीयले सुस्ता अतिक्रमणलाई तिवव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाउ अभियान’ नामक समिति समिति गठन गरेर अतिक्रमणको बिरोध गर्दै आउनुभएको थियो । उहाँ अभियानका संयोजकसमेत हुनुहुन्छ । अतिक्रमणविरुद्ध लागेको भन्दै भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुठा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको थियो । राजनीतिक परिवर्तनसंगै फेरिने सरकारसँग गुरुङसहितको टोलीले सुस्ताको अतिक्रमण भूमि फिर्ता ल्याउन माग गर्दै आएको छ ।
स्थायी सीमा नभएका कारण भारतले पटक पटक अतिक्रमण गर्दै आएको भन्दै स्थायी सीमा स्तम्भ राख्न पहल गरिदिन सुस्तावासीहरुले माग गर्दै आएका छन् । सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिन हो । १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेका छ । अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएको सुस्ता बचाउ अभियानका प्रवक्ता जयसवालको भनाई छ । १९ हजार ४८० हेक्टरलाई भारतले विवादित भन्दै आएको छ । विवादित भनिएको भूमि कसैले प्रयोग नगर्ने बताएपनि अहिले पनि एसएसबीले भारतीय नागरिकलाई पठाएर खनजोत गर्न पठाउने गरेको सुस्तावासीको भनाई छ ।
पछिल्लो केही वर्षदेखि सुस्तामा सडक, विद्युतलगायतका संरचना बन्न थालेपछि सुस्ता अतिक्रमण भने रोकिएको छ । नेपाल प्रहरीको चौकीसँगै सशस्त्र प्रहरीको बेस क्याम्प बसेपछि स्थानीयले सुरक्षाको अनुभूति पाएका छन् । तर कुन बेला भारतीयहरु आएर फेरि अतिक्रमणको वितण्डा मच्चाएर दुःख दिन्छन् भन्नेमा सुस्तावासीहरु सधैं पिरलोमा रहने गरेको स्थानीयको भनाई छ ।
सुस्ता गाउँपालिका– ५ मा पर्ने नारायणी नदी पारिको सुस्ता गाउँमा हाल ३२५ घरधुरीमा ३२ सय जनसंख्याको बसोबास छ ।
तपाईको प्रतिक्रिया