रुपन्देहीमा मतगणना जारी, पाँच क्षेत्रमा अलग अलग पार्टीको अग्रता
मंसिर ६, रुपन्देही
प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नं–१ को मतगणना जारी छ । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पाँच अलग अलग पार्टीका उम्मेदारहरुले अग्रता लिएका छन् ।
रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा मतगणना भइरहेको क्षेत्र नं १ मा एमालेका उम्मेदार छविलाल विश्वकर्माले १७३८ मतका साथ अगाडि छन् भने नागरिक उन्मुक्तिका लालबिर चौधरीले १५९७ मतका साथ पछ्याईरहेका छन् । सत्तागठबन्धनका उम्मेदवार घनश्याम भुसालले १४०४ मत ल्याएर तेस्रो स्थानमा छन् ।
रुपन्देही २ मा सुरुवातदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार २२४४ मतका साथ उनले अग्रता लिएका छन् भने १९४४ मतका साथ एमाले उपाध्यक्ष विष्णु पौडेलले पछ्याईरहेको अवस्था छ भने तेस्रो स्थानमा सत्तारुढ गठबन्धनको समर्थमा जनमुक्तिका केशव थापाले १४६१ मत ल्याएका छन् ।
क्षेत्र नं ३ मा नेपाली कांग्रेसका बालकृष्ण खाणले अग्रता कायम राखेका छन् । उनले १९४१ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेको समर्थनमा उम्मेदवार रहेका राप्रपाका दिपक बोहोराले १४३६ मत ल्याएका छन् ।
क्षेत्र नं ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले निरन्तर अग्रता लिएका छन् । ३९९४ मतका साथ अग्रता लिएका शुक्लालाई नेपाली कांग्रेसका प्रमोद यादवले २७६१ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् भने जनमतका भोपेन्द्र यादवले २११४ मत ल्याएर तेस्रो स्थानमा छन् ।
रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली काँग्रेसका भरत शाहलाई उछिन्दै नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन् । उनले ५ हजार ९१८ मतकासाथ शाहभन्दा अघि छन् । काँग्रेसका शाहले ४३७९ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया