00:00:00
राष्ट्रिय

नेपालमा भोकमरीको स्थिति सुधार

सोमबार असोज ३१, २०७९/ Monday 10-17-22

आश्विन ३१, काठमाडौँ 
विश्वव्यापी भोकमरीको सूचीमा नेपालको स्थिति सुधार भएको छ । ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई) ले सार्वजनिक गरेको विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१ औं स्थानमा छ । सन् २०१४ मा नेपालको अंक २१.२ थियो । 


२०२२ को सूचीमा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्रै नेपालभन्दा अगाडि छ । छिमेकी भारतमा भने भोकमरीको अवस्था भयावह रहेको प्रतिवेदनमा उल्लेख छ । १२२ देश समावेश सूचीमा भारत १०७ औं स्थानमा छ । भारतको अवस्था छिमेकी श्रीलंका, बंगलादेश, नेपाल र पाकिस्तानभन्दा खस्किएको छ । सूचीअनुसार दक्षिण एसियामा अफगानिस्तान मात्र भारतभन्दा पछाडि १०९ औं स्थानमा छ । दक्षिण एसियाली देशहरूमा श्रीलंका ६४ औं, बंगलादेश ८४ औं र पाकिस्तान ९९ औं स्थानमा छन् ।


बुरुन्डी, सोमालिया, दक्षिणी सुडान र सिरिया कुल ४९.९ अंकसहित सूचीको पुछार (१२२ औं स्थान) मा छन् । भारतले कुल २९.१ अंक प्राप्त गरेको र यसले ‘गम्भीर’ अवस्था रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे, चिलीलगायतका १७ वटा देशको अंक ५ भन्दा पनि कम छ ।


सन् २०२१ मा ११६ देशको सूचीमध्ये भारत ९४ औं स्थानमा थियो । उच्च भोकमरी रहेको भारतका बच्चाहरूमा ‘कुपोषणको अवस्था पनि गम्भीर’ रहेको जनाइएको छ । 
विश्वभर ८२ करोड ८० लाख मानिस कुपोषणको सिकार भएकामा त्यसमध्ये २२ करोड ४० लाख भारतीय रहेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदन सार्वजनिक भएसँगै नरेन्द्र मोदी सरकारका मन्त्रीहरूले आपत्ति जनाएका छन् ।

भारत सरकारले प्रतिवेदनप्रति आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरेको छ । प्रतिवेदन त्रुटिपूर्ण रहेको र भोकमरीबारेको अवस्था सार्वजनिक गर्ने तरिका गलत रहेको भारत सरकारको आरोप छ । प्रतिवेदन सार्वजनिक भएसँगै केही अधिकारकर्मी तथा राजनीतिज्ञले भने सरकारको कडा आलोचना गरेका छन् ।
 

तपाईको प्रतिक्रिया