00:00:00
स्थानिय

समयमै उपचार गरे मानसिक रोग निको हुन्छः मनोरोग विशेषज्ञ डा. बिक्रम काफ्ले

सोमबार असोज २४, २०७९/ Monday 10-10-22

असोज २४, तिलोत्तमा
पवित्रा चौधरी
झट्ट हेर्दा हट्टाकट्टा, स्वस्थ, शरीरमा घाउचोट नदेखिने तर भित्री मन भने भारी, चिन्ता, विभिन्न सोचाई  आइरहने मानसिक रोगका सुरुवाती लक्षण हो, जुन समयमै उपचार गरे निको हुने तर बेवास्ता गरेमा त्यसले जटिल रुप लिनसक्ने मनोरोग विशेषज्ञ डा.विक्रम काफ्ले बताउनुहुन्छ ।

मानसिक समस्या बल्झदै गए मानिसमा झर्किने, एक्लै बस्न मन लाग्ने, टोलाउने, खाना नरुच्नेदेखी लिएर अनावश्यक सोचाई आउने, कसैले पछ्याएकोजस्तो महसुस हुने, डराउनेजस्ता जटिल र डरलाग्दो लक्षण बिरामीमा देखिन्छ ।

मानसिक स्वास्थ्यका बारेमा समाजमा रहेका भ्रम र गलत धारणाका कारण मानसिक रोगीका बिरामीहरु खुलेर बाहिर आउन नसकेको र कतिपयले उपचार नगराई रोग लुकाएर बस्नुपर्ने बाध्यता रहेकोे उहाँको भनाई छ । उपचार प्रक्रियामा गए पनि समाजको डरले लुकेर औषधी सेवन गर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ । 


मानसिक रोगीका बिरामीलाई सामाजिक रुपमा अपहेलना नगर्ने र मानसिक रोगका बिरामीलाई हेर्ने दृष्टीकोणमा परिवर्तन गर्न सके मानसिक रोगीका बिरामीले उपचार पाउने वातावरण सहज बन्ने उहाँ बताउनुहुन्छ । नेपालमा पछिल्लो समय मानसिक रोगीका बिरामी बढ्दै गएको तर उपचारको व्यवस्था सिमित मात्रामा रहेको उहाँको भनाई छ । सरकारले मानसिक स्वास्थ्यलाई गम्भिरतापूर्वक लिनुपर्ने र यसको उपचारका लागि बजेट बृद्धि गर्नुपर्ने पनि उहाँ बताउनुहुन्छ ।  


आज विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईँदैछ । नेपालमा “हाम्रो राष्ट्रिय प्राथमिकता, सबैको निम्ती मानसिक सुस्वास्थ्यको व्यवस्था” भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

प्रत्येक वर्षको अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । मानसिक स्वास्थ सम्बन्धी समस्या र विभिन्न चनौतिलाई सामना गर्ने सम्बन्धी सचेतनाका लागि विश्वका १ सय ५० भन्दा बढी देशहरुले विभिन्न कार्यक्रम गरेर सन् १९९२ देखि यो दिवस मनाउँदै आएका छन् । 
 

तपाईको प्रतिक्रिया