00:00:00
स्थानिय

रुपन्देहीमा सुन चोरीको आरोपमा तीन जना पक्राउ

बुधबार बैशाख २८, २०७९/ Wednesday 05-11-22

बैशाख २८, रुपन्देही
सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बुटवलमा भएको सुन चोरीमा संलग्न भएको आरोपमा तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख १३ गते बुटवल उपमहानगरपालिका १३ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट ३ करोड ५० लाख रुपैयाँ बराबरको सुन चोरी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको जौहरी मोहल्ला चोकका ३६ वर्षीया मोहसिन अब्दुल्ला खान, उत्तर प्रदेशकै निसानगन्ज महानगरका २२ वर्षीया मोहम्मद सरिक र उत्तर प्रदेशकै गोमती कोलोनीका ३५ वर्षीया मोहद जिसान खान रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताउनुभयो ।

रुपन्देहीका प्रहरी प्रमुख रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको चोरी गर्ने समूह नै रहेको र घटनाको प्रकृति हेर्दा उनीहरूले लामो योजना बनाएर सुन पसल चोरी गरेका थिए । घटना घटेको १३ दिनपछि वैशाख २६ गते साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका ४, महुवारीस्थित खुनगाई(कालिदह सडकखण्डमा सवारी जाँचका क्रममा तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरू सवार यूपी ३२ एलडब्लू ३१५१ नम्बरको कार, एउटा ३१ ग्राम ५० मिलिग्राम, एउटा बीस ग्राम, एउटा २९ ग्राम १६० मिलिग्राम, दुईवटा १०(१० ग्राम गरी कुल एक सय ग्राम ६६ मिलिग्राम सुनको सिक्का बरामद गरेको हो । उनीहरूले चोरी भएको उक्त सुन पसलको छेउमा व्यवसाय गर्ने भनी सटर भाडामा लिएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया