निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा निर्वाचन आयोगको जोड
बुटवल । निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा निर्वाचन आयोगले जोड दिएको छ । निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिनुभएको हो । निर्वाचन आयोगले रुपन्देहीमा शनिबार गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त जवराले नागरिकले सबैभन्दा बढी विश्वास मिडियाको गर्ने र मिडिया नै नागरिकमा सूचना पुग्ने पहिलो माध्यम भएकाले त्यसलाई अझ बढी विश्वस्नीय बनाउन आग्रह गर्नुभयो ।
उहाँले निर्वाचनलाई मर्यादित र भयरहित बनाउन पनि आचारसंहिता पूर्ण रुपमा पालना गर्नु पर्ने आवश्यकता औलाउनुभयो । निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको उहाँको भनाई छ । सातैवटा प्रदेशमा आयोजना गर्ने योजना अनुरुप लुम्बिनी प्रदेशको रुपन्देहीमा कार्यक्रम गरिएको हो । निर्वाचन आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता नैतिक र कानूनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुनुपर्ने बताउनुभयो । उहांले निर्वाचनलाई स्वतन्त्र,स्वच्छ प्रभावकारी रुपमा आयोगले आफ्ना कामलाई तिव्र रुपमा अगाडि बढाएकोले सवैलाई आ आफ्ना ठाउंबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै सूचना आयोगका पूर्व आयुक्त यशोदा तिमिल्सेनाले निर्वाचनमा सञ्चारकर्मीहरू मिथ्या सूचना र दुष्प्रचारबाट बच्नुपर्ने बताउनुभयो । कार्यक्रममा निर्वाचन आयोगका उपसचिव कमल भट्टराई, यज्ञ प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल,सृजना अर्याल लगायतले बोल्नुभएको थियो ।
तपाईको प्रतिक्रिया