00:00:00
स्वास्थ्य

विश्व कुष्ठरोग दिवस : समयमै उपचार गरे निको हुन्छ

आइतबार माघ १६, २०७८/ Sunday 01-30-22

काठमाण्डाै २०७८ माघ १६

     आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी ६९औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ ।

नेपालमा १२ वर्षअघि नै कुष्ठरोग निवारण भएको घोषणा भए पनि नयाँ बिरामी देखिने गरेका छन् । सरकारी तथ्याङ्क अनुसार हरेक वर्ष नेपालमा तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका छन् । समयमै कुष्ठरोगको उपचार हुन नसके अपाङ्गता हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम हुन्छ । त्यसैले बेलैमा उपचार गर्न र रोग नलुकाउन सरकारले आग्रह गर्दै आएको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्नगर्छ । यो रोगले खास गरेर छाला, नसामा असर गर्छ । यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र बिस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ ।

कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्ने भएकोले लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाइ बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुने विज्ञहरुको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया