भैरहवा २०७८ पौष ३०
सिद्धार्थनगरको बुद्धचोकमा शुक्रबार भयानक दुर्घटना भएको छ । बिहान ११ बजेतिर बुद्धचोकमा लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।
बाटो क्रस गर्नेबेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्कर दिएर ट्रकले मोटरसाइकललाई करिब २ सय मिटरसम्म घिसारे लगेको र घिसारे लगेपछी उनको मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।
बुद्धचोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनीको नजिक ल्याएको थियो। दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गर्दा क्षति पुगेको छ । ट्रकको सिसा फुटेको छ । घटनास्थलमा आएको प्रहरीले ट्रकमा थप क्षति हुनबाट जोगाएको थियो । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । मृतक र ट्रक चालकको नाम खुलेको छैन ।
तपाईको प्रतिक्रिया