‘कोरिडोर चाहिँदैन,सुकुम्बासी मास्न पाइँदैन’ घन्कियो करिडोर विरुद्धको नारा
बुटवल २०७८ पौष २५
बुटवलमा करिडोर क्षेत्रका स्थानीयले आफूहरुलाई सहि व्यवस्थापन नगरि करिडोर निर्माण गर्न लागेको भन्दै बुटवल उपमहानगरपालिका अगाडि प्रदर्शन गरेका छन् । तिनाउ र दानव नदी किनारमा भइरहेको करिडोर निर्माणको काम रोक्न माग गर्दै नारा लगाएका छन ।
दानव नदी करिडोर क्षत्रका विभिन्न टोलका स्थानीयहरुले आइतबार बुटवल नगर परिक्रमा गर्दै उपमहानगरको गेट अगाडि धर्ना दिएका छन् । उनिहरुले ‘कोरिडोर चाहिँदैन, सुकुम्बासी मास्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।बुटवल उपमहानगरको महत्वकांक्षी योजनाका रुपमा रहेको तिनाउ र दानव नदी करिडोरको ठेक्का सम्झौता भएको लामो समयपछि कार्यान्वयनको चरणमा गएपनि स्थानीयले अबरोध सिर्जना गर्न थालेपछि रोकिने अवस्थामा पुगेको छ ।
गत वर्षको मंसिर १० गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले करिडोरको शिलान्यास गरी तत्कालै काम अघि बढाउन निर्देशन दिए पनि घर–जग्गा व्यवस्थापनको टुङ्गो नलाग्दा अन्यौलमा पर्दै आएको छ । तिनाउ नदी र दानव नदीको दीर्घकालीन व्यवस्थापन तथा पर्यटनको विकासका लागि नदी किनारमा सडक निर्माणको काम सुरु गर्नुपर्ने भएपनि त्यस क्षेत्रमा पर्ने घर, टहराहरुको व्यवस्थापन नहुँदा यो समस्या सिर्जना भएको हो ।
करिडोर क्षेत्रभित्रका सबै घर–टहरा तथा जग्गाका समस्याहरु समाधान गरेर मात्रै निर्माणको काम सुरु गर्नु पर्ने आफूहरुको माग रहेको संघर्ष समितिका संयोजक आत्मबहादुर रानाले बताउनुभयो । डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ । उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ । पर्खाल क्षेत्रबाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली क्षेत्र बनाइनेछ । त्यसको छेउमा ७/७ मिटरको दुई लेन सडक हुनेछ । सडकको छेउमा फुटपाथ बनाइनेछ ।
बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले करिडोर क्षेत्रमा पर्ने बस्तीलाई व्यवस्थापन गर्नका लागि काम भइरहेको बताउनुभयो । विकासको काममा कसैले पनि अवरोध गर्न उचित नहुने बताउँदै उनले करिडोर प्रभावित जनताका मागलाई उचित रुपले सम्बोधन गरिने बताउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया