दाङ २०७८ पौष ९
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय भुक्तान गरिरहेका एक कैदी दाङमा प्रहरीकै मोटरसाइकल चढेर फरार भएका छन् । घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट भागेका हुन् ।
घोराही कारागारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ । काफ्लेका अनुसार परियार बिहान छालाको उपचार गर्न भन्दै बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर घोराहीस्थित एक अस्पतालमा गएका थिए । उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले भन्नुभयो ।
घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए । काफ्लेका अनुसार प्रहरी जवान चौधरीको मिलेमतोमा परियार भागेको आशंका गरिएको छ । चौधरीको भूमिका शंकास्पद देखिएपछि उनलाई थुनामा राखेर अनुसन्धान भैइरहेको छ । फरार भएका परियारको खोजीमा प्रहरी परिचालन गरिएको एसपी काफ्लेले बताउनुभयो ।
तपाईको प्रतिक्रिया