00:00:00
राष्ट्रिय

कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि

मंगलबार मङ्सिर २८, २०७८/ Tuesday 12-14-21

काठमाण्डाै २०७८ मंसिर २८

           कांग्रेस सभापतिको चयनका लागि आजै दिउँसो ३ बजेपछि पुनः मतदान हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
मतदान हिजो तोकिएकै तीन ठाउँमा हुनेछ । राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा तोकिएका तीन ठाउँमै दिउँसो साढे ३ बजेदेखि बेलुका साढे ७ बजेसम्म चुनाव हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि फेरि दोस्रो चरणमा मतदान हुन लागेको हो ।

  दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत पाउनु भएको थियो भने कोइरालाले १ हजार ७ सय २ मत पाउनु भएको थियो । निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ ।

यदि कुनै पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ । सभापतिको परिणाम आएपछि मात्रै बाँकी पदको मतगणना हुनेछ । सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् ।

संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले प्रकाशमान सिंहलाई उहाँकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गर्नु भएको छ । यस्तै, संस्थापन इतर समूहका सभापतिका उम्मेदवार रहेका शेखर कोइरालाले पनि प्रकाशमान सिंहसँग छलफल गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया