धानमा क्षति व्यहोरेका किसानलाई अनुदानमा गहुँको बीउ
हरि शर्मा,परासी,
२०७८ कात्तिक २७
पश्चिम नवलपरासीमा आएको बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसानहरुलाई गहुँको बिउ वितरण गर्न थालिएको छ । गहुँ लगाउने समयमा बिउ पाएपछि क्षति व्यहोरेका किसानहरुले राहत महशुस गरेका छन् ।
गतभदौमा आएको बाढीका कारण किसानहरुले भित्राउन ठिक्क पारेको धानमा क्षति पुर्याएको थियो । धानमा क्षति पुर्याएपछि पाल्हीनन्दन गाउँपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्न सुरु गरेको अध्यक्ष दीपक गुप्ताले बताउनुभयो। बाढीले ५० प्रतिशतभन्दा बढी धानमा क्षति पुर्याएको छ ।
धानको क्षति व्यहोरेका किसानलाई गहुँको बिउसँगै बेमौसमी खेतीका लागि अन्य बिउ, पम्पसेट, हाते टेक्टरलगायत कृषि उपकरण र अन्य सहुलियतका कार्यक्रम अघि सारेको अध्यक्ष गुप्ताले बताउनुभयो । करिब १३ सय बढी किसानहरुलाई वितरण गर्न पालिकाले ३६ लाख ९६ हजारको बिउ खरिद गरेको छ । १ बोरा ४० केजीको छ । जसको बजार मूल्य २८ सय रहेको छ ।
किसानहरुले १४ सय रुपैयाँ प्रति बोरा भुक्तानी गरेर अनुदानको बिउ लगेका छन् । किसानलाई विजय र भृकृटी जातको बिउ वितरण गरिएको हो । जिल्लाको २९ हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । बाढीका कारण क्षति बढी भएकाले सबै पालिकाबाट विवरण आई नसकेको कृषि ज्ञान केन्द्र परासीका प्रमुख सन्देश धितालले भन्नुभयो। बाढीका कारण जिल्लामा ५० प्रतिशत भन्दा बढी धानमा क्षति पुगेको अनुमान छ ।
तपाईको प्रतिक्रिया