प्रधानमन्त्री देउवाले आज कोप–२६ सम्मेलनलाई सम्बोधन गर्ने
काठमाण्डाै २०७८ कार्तिक १५
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औं सम्मेलन कोप–२६ मा प्रधानमन्त्री शेरबहादुर देउवाले आज सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा भाग लिन गएराती नै ग्लास्गो पुगिसक्नु भएको छ । प्रधानमन्त्रीले आज दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भइ सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । साथै प्रधानमन्त्री देउवाले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ ।
भ्रमणका दौरान प्रधानमन्त्रीले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । भोलि नै उहाँले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गर्नुहुनेछ। यस्तै, उहाँ आजै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा भोलि बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्यान्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले हिजो र अस्ति लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री देउवाले पर्सि स्कटल्यान्डको इडिनबर्गमा रहेको रोयल बोटानिक गार्डेनको भ्रमण गरी सम्बोधन गर्नुहुनेछ । उहाँ आउँदो बिहीवार स्वदेश आइपुग्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया