00:00:00
स्थानिय

मोतीपुर झडप: घाइते प्रहरीलाई हेलिकप्टरमार्फत काठमाण्डौं लगियो

सोमबार असोज २५, २०७८/ Monday 10-11-21

रुपन्देही -बुटवल 
२०७८ असोज २५ 


            मोतिपुरमा आइतबार भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४ जना जवानलाई उपचारका लागि काठमाडौँ लगिएको छ। 

       मोतिपुरको झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका २ जना र सशस्त्रका प्रहरीका २ जना गरी ४ थप उपचारका लागि काठमाडौँ लगिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले बताउनुभयो । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो।

    कपिलबस्तु सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको सशस्त्र प्रहरी का प्रवक्ता निराकरनाथ शुक्लाले बताउनुभयो । मोतिपुरमा जग्गा कब्जा गर्न खोज्ने प्रहरीबीच भएको झडपमा परी नेपाल प्रहरी र शस्त्र प्रहरीका गरी ५६ जना सुरक्षाकर्मी घाइते भएको रुपन्देहीका प्रहरी प्रवक्ता मनोज केसीले बताउनुभयो । प्रहरी प्रमुख केसीका अनुसार आइतबारको झडपमा नेपाल प्रहरीका ३३ जना घाइते भएका थिए ।

घाइते मध्ये २ जनालाई काठमाडौँ पठाइएको र ७ जना भैरहवा मेडिकल कलेजमा उपचाररत भैरहेको र घाइते भएका अन्य प्रहरी भने उपचार पछि डिस्चार्ज भएको प्रहरी प्रमुख केसीले बताउनुभयो । यस्तै शस्त्र प्रहरीका प्रवक्ता निराकरनाथ शुक्लाले आइतबारको झडपमा २३ जना सशस्त्र प्रहरी घाइते भएको बताउनुभयो । 

  झडपमा परी १८ स्थानीय घाइते भएको प्रहरीले जनाएको छ भने ४ जना स्थानीयको मृत्यु भएको थियो । अहिले मोतिपुर क्षेत्रको अवस्था सामान्य रहेको प्रहरी प्रमुख केसीले बताउनुभयो । अवस्था सामान्य भए पनि सुरक्षा व्यवस्था कडा पारिएको केसीले बताउनुभयो।

तपाईको प्रतिक्रिया