00:00:00
स्थानिय

सीमा नाकाको आवागमन सहज बनाउन लुम्बिनी प्रहरी प्रमुखको निर्देशन

मंगलबार असोज १९, २०७८/ Tuesday 10-05-21

हरि शर्मा,परासी
२०७८ असोज १९ 


          लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्द राज आचार्यले सीमा नाकाको आवागमनलाई सहज बनाउन मातहतका प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको छ ।

    कोरोना संक्रमणका कारण डेढ वर्षअघि देखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्डसहितको आवागमनलाई सहज बनाउन आचार्यले निर्देशन दिनुभएको हो ।६६ औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मंगलबार आयोजना गरेको ‘अमर प्रहरी स्मारक’को उद्घाटन कार्यक्रममा बोल्दैं डिआइजीआचार्यले चेकजाँचका नाउँमा नागरिकलाई अनावश्यक दुःख नदिन पनि निर्देशन दिनुभयो।
 
    चाडपर्व नजिकएकाले भारतबाट नेपाल आउने नागरिकहरुको चाप बढ्ने भएकाले स्वास्थ्य मापदण्डलाई ध्यान दिदैं शान्ति सुरक्षाको प्रत्याभूति सहित सहज आवागमनको व्यवस्था मिलाउन आचार्यले निर्देशन दिनुभयो । नागरिकहरुले प्रहरीसँग धेरै अपेक्षा राखेको जनाउँदै डिआइजी आचार्यले प्रहरीको व्यवहारमा अझ सुधारको खाँचो रहेको औलाउनुभयो।

    कानुन बमोजिमका व्यवसायको सञ्चालनमा सहज बनाउँदै नाकाबाट हुने अवैध कार्यलाई निरुत्साहित गर्न प्रहरीले कुनै कसर बाँकी नराख्न पनि आचार्यले सीमा नाकाका प्रहरी इन्चार्जलाई निर्देशन दिनुभयो। जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मनोज कुमार यादवले तस्करी नियन्त्रणमा आफूले कुनै कसर बाँकी नराखेको जनाउँदै आफू सरुवा भएर आएको ३ महिनाको अवधिमा साढे ३ करोड बराबरका अवैध सामान बरामद गरी भन्सार र राजश्व कार्यालय पठाएको जानकारी दिनुभएको थियो।  

    यसैबीच सीमा नाकाबाट हुने तस्करी कार्य नियन्त्रणमा उल्लेखनीय कार्य गरेको जनाउँदै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्धय महेन्द्र यादव र नरेश कुर्मीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । 
 

तपाईको प्रतिक्रिया