इजरायल जान आवेदन दिएका २७ सय ९० जनाको कागजपत्र नक्कली
काठमाडौं २०७८ असोज ८
वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेश गरेको खुलेको छ ।
संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका थिए । परीक्षामा भने ७ हजार ९ जना मात्रै सहभागी हुन योग्य ठहरिएका थिए । ‘आवेदकले प्रमाणपत्रहरु, उचाई, तौल, शेक्षिक योग्यता लगायतका कुुरा स्वघोषणा गरी निवेदन दिएका थिए,’ तर प्रमाणीकरणका क्रममा कागजातमा त्रुटि देखिएपछि रद्ध गरेका थियौं, आजसम्म एक जना पनि मेरो आवेदन किन रद्ध भयो भनेर सोध्न नआएको काफ्लेले बताउनुभयो
विभागका अनुसार भदौ २८ गते भएको परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए भने कागजपत्र प्रमाणीकरण भएकामध्ये ६९२ जना अनुपस्थित रहेका थिए । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको थियो । उत्तरपुस्तिकालाई चिकित्सा शिक्षा आयोगमा लगेर मेसिनले नै जाँच्ने प्रविधिको प्रयोग गरेर जाँच गरिएको काफ्लेले जानकारी दिनुभयो ।
काफ्लेले ‘सचिवज्यू र इजरायलका राजदूतज्यूले पोको खोलिदिनुभएपछि रातभर लगाएर हामीले भोलिपल्ट १० बजेसम्म नतिजा तयार गरेका थियौं, ११ बजे हामीले परीक्षाफल प्रकाशित गरेका थियौं ।’ भन्नुभयो परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १३९५ जना महिला र ६४४ जना पुरुष छन् । भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता लिइनेछ । अन्तरवार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ ।
शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ । इजरायल जाँदाको भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था छ । इजरायलमा श्रमिक लैजाने गरी २०७७ माघ ८ मा समझदारी गरेको थियो ।
तपाईको प्रतिक्रिया