आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन पर्व र विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम गरिदै
काठमाण्डाै-२०७८ भदौ ६
आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्दछन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरि मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरि तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।
यस्तै, जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका डाक्टर शेषराज आचार्य बताउनुहुन्छ । जनैपूर्णिमाको अवसरमा आज देशभर नै सार्वजनिक बिदा दिइएको छ ।
यसैविच
आज विश्व संस्कृत दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो । नेपालमा चौथो विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाण्डौमा आयोजना गरिएको छ । तर, कोरोनाको महामारीका कारण यसपालि सीमित व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम हुने छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरि स्वास्थ्य सुरक्षाका विधि अपनाएर दिवस मनाउने तयारी गरिएको मूल समारोह समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया